काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएका छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले महासभाका विभिन्न सत्र तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालका राष्ट्रिय हित, चासो र पछिल्लो राजनीतिक तथा सामाजिक परिस्थितिबारे स्पष्ट धारणा राखिएको बताए ।
मन्त्री खनालका अनुसार नेपालले संयुक्त राष्ट्रसंघको सदस्य बनेदेखि नै महासभालगायत अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना प्राथमिकता र राष्ट्रिय हितका विषय उठाउँदै आएको छ । यसपटक भने मुलुकको पछिल्लो राजनीतिक परिवर्तन, वर्तमान सरकारका नीति तथा कार्यक्रम, नेपाली नागरिकको समृद्धि र सुशासनप्रतिको आकांक्षा तथा बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय मुद्दामा नेपालको दृष्टिकोणलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको उनले बताए ।
महासभामा नेपालले हालै भोगेको भोटेकोशी बाढीको विपद्लाई समेत अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको मन्त्री खनालले बताए । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमलाई ‘हिमाली सुनामी’को घटनासँग जोड्दै नेपालले जलवायु न्यायको आवश्यकता विश्वमञ्चमा उठाएको उनको भनाइ छ ।
उनले भने, ‘नेपालले भोगेको पछिल्लो विपद् हाम्रो मात्र समस्या होइन । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा सिर्जना भइरहेको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउनु आवश्यक छ ।’
प्रधानमन्त्री बालेन शाहले महासभाको ‘जनरल डिबेट’मा गरेको सम्बोधनलाई पनि मन्त्री खनालले महत्वपूर्ण भएको बताए । प्रधानमन्त्रीको सम्बोधनमा जलवायु न्यायसँगै नेपालको राष्ट्रिय हित र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यका विषय उठाइएको उनले उल्लेख गरे । प्रधानमन्त्री शाहले महासभामा भोटेकोशी बाढीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै जलवायु न्याय र हिमाली क्षेत्रको उत्थानशीलताका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए ।
मन्त्री खनालले महासभाका क्रममा जलवायु जोखिममा रहेका मुलुकहरूबीच सहकार्य, जलवायु वित्त, विपद् पूर्वतयारी तथा भोटेकोशी विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतासमेत उठाएका थिए । जी–७ विकासमन्त्रीस्तरीय बैठकमा उनले नेपाललाई पुनःस्थापना तथा पुनर्निर्माणका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
उनका अनुसार महासभामा नेपालको पछिल्लो राजनीतिक अवस्था मात्र नभई नागरिकका समृद्धि र सुशासनसम्बन्धी आकांक्षा, जलवायु परिवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई पनि नेपालको प्राथमिकताका रूपमा प्रस्तुत गरिएको छ ।
मन्त्री खनाल मंगलबार न्यूयोर्कबाट दोहा हुँदै काठमाडौं फर्किएका हुन् । उनी महासभाका क्रममा विभिन्न उच्चस्तरीय बैठक तथा द्विपक्षीय भेटवार्तामा सहभागी भएका थिए ।




























