काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटारका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गए राति निषेधाज्ञाको आदेश जारी गर्दै यही मङ्सिर ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने बताए ।
जारी निषेधाज्ञामा शीतलनिवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुशी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण-पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म रोक लगाइएको छ ।
यस्तै बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण एक सय मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ ।
यसअघि स्थानीय प्रशासनले माइतीघर-बानेश्वर र ललितपुरको पुलचोक क्षेत्रमा निषेधको आदेश जारी गरिसकेको छ ।


























