काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी मार्च १४ देखि १६, २०२६ मा आयोजना हुने भएको छ। एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् ९आईसीसी० ले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले सदस्यता व्यवस्थापन र दर्ता प्रक्रिया तीव्र बनाएको जनाएको छ।
आईसीसीका अनुसार सदस्यता प्रणालीलाई थप पारदर्शी, समावेशी र सहमतिमा आधारित बनाउँदै ‘मेम्बर इन्फर्मेसन सिस्टम’ (एमआईएस) र ‘मेम्बर्स रजिस्ट्रेसन सिस्टम’ (एमआरएस) मार्फत सदस्य विवरण अद्यावधिक गरिएको छ। उच्चस्तरीय समिति (एचएलसी) को पोर्टल तथा राष्ट्रिय समन्वय परिषद्हरूबाट प्राप्त विवरण प्रमाणीकरण गरी एमआरएस प्रणालीमा समावेश गरिएको आईसीसीले जनाएको छ।
नयाँ तथा छुटेका सदस्यले नेपाल समयअनुसार जनवरी २५, २०२६ राति १२ बजेसम्म एमआरएसमार्फत सदस्यता दर्ता गर्न सक्नेछन्। त्यसैगरी, राष्ट्रिय समन्वय परिषद्हरूले अन्य पोर्टलमार्फत दर्ता भएका सदस्यहरूको विवरण गैरआवासीय नेपाली भएको प्रमाणसहित जनवरी २५ सम्म सचिवालयमा बुझाउनुपर्नेछ।
सबै सदस्यहरूको विवरण ‘डाटा मर्ज’ गरी आवश्यक कागजात प्रमाणीकरणको प्रक्रिया पूरा गरेपछि जनवरी ३१, २०२६ सम्म अन्तिम सदस्य सूची सार्वजनिक गरिने आईसीसीले जनाएको छ।
एनआरएनएले आपसी समझदारी, सहमति र सहकार्यका माध्यमबाट १२ औँ महाधिवेशनलाई ऐतिहासिक, एकताबद्ध र सफल बनाउन विश्वभरका गैरआवासीय नेपालीलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।




























