काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्न तथा नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ। संघका महासचिव डा. चिरञ्जीवी खड्काले गैरआवासीय नेपालीलाई रेमिट्यान्स पठाउने माध्यमका रूपमा मात्र नभई नेपालको विकास र समृद्धिका साझेदारका रूपमा हेर्न सरकारसँग आग्रह गरेका हुन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खड्काले नेपालको विकास, समृद्धि तथा विपद् व्यवस्थापनमा सरकारसँग सहकार्य गर्न एनआरएनए तयार रहेको बताए। उनले जलवायु परिवर्तन, नागरिकता तथा लगानीका विषयमा सरकारसँग घनीभूत सहकार्य आवश्यक रहेको धारणा राखे।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गर्नुअघि सरकारले भोटेकोशी बाढी तथा हिमाली क्षेत्रमा देखिएका विपद्का विषयमा विज्ञसँग परामर्श गरेको आफूले विश्वास गरेको बताउँदै खड्काले विश्वमञ्चमा नेपालका एजेन्डा स्पष्ट रूपमा उठाउनुपर्ने बताए।
उनका अनुसार जलवायु परिवर्तन अहिले विश्वमञ्चको प्रमुख विषय बनेकाले नेपालले जलवायु कूटनीति र जलवायु न्यायका विषयलाई तथ्य र विज्ञानमा आधारित भएर अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न आवश्यक छ।
‘जलवायु परिवर्तन अहिले विश्वमञ्चको मुख्य छलफलको विषय बनेको छ। क्लाइमेट डिप्लोमेसी र क्लाइमेट जस्टिसका कुरा गर्दा कुनै देशलाई दोषारोपण गर्नुभन्दा विज्ञानको तथ्यमा आधारित भएर प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघको महासभामा आफ्ना भनाइ राख्नुपर्छ,’ खड्काले भने।
नेपालमा विपद् तथा संकटका बेला एनआरएनएले तत्काल उद्धार तथा राहतमा सहयोग गर्दै आएको उनले बताए। भूकम्प, कोरोना महामारी तथा पछिल्लो भोटेकोशी बाढीका समयमा पनि गैरआवासीय नेपाली अग्रपंक्तिमा रहेर सहयोगमा जुटेको उनको भनाइ छ।
देशको विकास तथा नीति निर्माणमा डायस्पोराको भूमिका प्रभावकारी बनाउन प्रधानमन्त्री शाहले गैरआवासीय नेपालीसँग प्रत्यक्ष छलफल गर्नुपर्ने खड्काले बताए।
वंशजको नागरिकताको निरन्तरतामा आशावादी
खड्काले वंशजको नागरिकताको निरन्तरताका विषयमा वर्तमान सरकारप्रति आफूहरू आशावादी रहेको बताए। सरकारले गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी विषयलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।
‘बालेन शाह नेतृत्वको रास्वपा सरकारले वंशजको नागरिकताको निरन्तरताको ग्यारेन्टी गर्छ भन्नेमा एनआरएनए ढुक्क छ। तर, पछिल्लो समय सरकार यो विषयबाट पछि हट्न खोजेको हो कि भन्ने आशंका पनि उब्जिएको छ,’ उनले भने।
वंशजको नागरिकताको निरन्तरता सुनिश्चित भए नेपालमा गैरआवासीय नेपालीको लगानी बढाउन थप सहज हुने उनले बताए। त्यसका लागि सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने उनको आग्रह छ।
रेमिट्यान्स पठाउने माध्यम मात्र होइनौँ
एनआरएनए महासचिव खड्काले गैरआवासीय नेपालीलाई रेमिट्यान्स पठाउने माध्यमका रूपमा मात्र हेर्न नहुने बताए। विश्वभर रहेका नेपालीको पुँजी, ज्ञान, सीप, प्रविधि र अनुभवलाई नेपालको विकाससँग जोड्न सरकारसँग सहकार्यको वातावरण आवश्यक रहेको उनले बताए।
विश्वका ९० भन्दा बढी देशमा एनआरएनएको सञ्जाल रहेको जानकारी दिँदै उनले उक्त सञ्जालमार्फत नेपालमा लगानी भित्र्याउन र विकासका गतिविधिमा योगदान गर्न आफूहरू इच्छुक रहेको बताए।
गैरआवासीय नेपालीले आफ्ना हक तथा अधिकारका लागि आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना नहोस् भन्ने आफूहरूको चाहना रहेको उनले बताए। सरकार र डायस्पोराबीच निरन्तर संवाद र सहकार्यबाट समस्या समाधान गर्ने वातावरण निर्माण हुनुपर्ने उनको भनाइ छ।



























