काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरबका लागि प्रस्तावित स्किल भेरिफिकेसन प्रोग्राम (एसभीपी) सम्बन्धी कुनै पनि गतिविधिमा संलग्न भए सदस्य संस्था तथा सम्बन्धित व्यक्तिमाथि संघको विधानबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
संघका अध्यक्ष डिकबहादुर खत्री (कुमार) र महासचिव हिरा बहादुर डाँगी (हरी) ले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा नेपाल सरकारबाट यस विषयमा अन्तिम निर्णय नआउँदासम्म एसभीपीसँग सम्बन्धित कुनै पनि प्रक्रिया अघि नबढाउन सम्पूर्ण सदस्य संस्थालाई निर्देशन दिइएको छ।
विज्ञप्तिअनुसार सरकारले साउदी पक्ष तथा सम्बन्धित निकायसँग एसभीपीका विषयमा कूटनीतिक, कानुनी र नीतिगत छलफल गरिरहेको अवस्थामा केही इच्छुक संस्था तथा एजेन्टहरूले संघको निर्णयविपरीत नेपाली श्रमिकलाई एसभीपी प्रक्रियामा सहभागी गराउने, साउदी दूतावासमा राहदानी बुझाउन लगाउने तथा विभिन्न शीर्षकमा रकम तिर्न बाध्य बनाइरहेको जानकारी संघलाई प्राप्त भएको जनाएको छ।
संघले यस्ता गतिविधि नेपाली श्रमिकको हित, विद्यमान कानुनी व्यवस्था तथा संघको संस्थागत निर्णयविपरीत रहेको ठहर गर्दै सदस्य संस्थालाई श्रमिकको सीप परीक्षण गराउने, राहदानी संकलन गर्ने, परीक्षण केन्द्र वा अन्य स्थानमा पठाउने तथा एसभीपीका नाममा कुनै पनि शीर्षकमा रकम नउठाउन स्पष्ट निर्देशन दिएको छ।
विज्ञप्तिमा हाल प्रस्तावित स्वरूपको एसभीपी लागू भए नेपाली श्रमिकमाथि थप आर्थिक भार पर्ने, वैदेशिक रोजगार प्रक्रिया थप जटिल बन्ने र पुनः ‘सिन्डिकेट’ संस्थागत हुने जोखिम रहेको उल्लेख गरिएको छ। त्यसैले सरकारले आधिकारिक निर्णय नगरेसम्म कुनै पनि गतिविधिमा संलग्न नहुन व्यवसायी, श्रमिक तथा रोजगारदातालाई आग्रह गरिएको छ।
संघले आफ्नो संस्थागत निर्णयको अवज्ञा गर्दै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एसभीपी कार्यान्वयनमा संलग्न भएको, श्रमिकलाई सहभागी गराएको, राहदानी संकलन गरेको वा अनधिकृत रूपमा रकम असुलेको प्रमाणित भए सम्बन्धित संस्था, सञ्चालक, कर्मचारी वा प्रतिनिधिमाथि संघको विधानबमोजिम कडा कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ।
संघले अन्तिम निर्णय नआउँदासम्म संयमता अपनाउन, भ्रममा नपर्न र संघको आधिकारिक धारणा तथा नेपाल सरकारको निर्णयलाई आधार मानेर मात्रै अगाडि बढ्न सम्पूर्ण सदस्य संस्था तथा सरोकारवालासँग आग्रह गरेको छ।


























