काठमाडौं । द रिभर ओभरसिज प्रालिका सञ्चालक तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकार रघुनाथ पुरी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (आईपिप्यान) को सल्लाहकारमा नियुक्त भएका छन्।
निजी क्षेत्रको ऊर्जा विकास, जलविद्युत् लगानी प्रवर्द्धन तथा नीतिगत सुधारलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ पुरीलाई उक्त जिम्मेवारी दिइएको आईपिप्यानले जनाएको छ।
वैदेशिक रोजगार व्यवसायसँगै ऊर्जा, पूर्वाधार र निजी लगानीका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका पुरीको अनुभवले संस्थाको रणनीतिक योजना, निजी क्षेत्रको हित संरक्षण तथा ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
नियुक्तिपछि पुरीले नेपालको समृद्धिको आधार ऊर्जा क्षेत्र भएकाले यसलाई थप सुदृढ, आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन आफ्नो अनुभव र क्षमता पूर्ण रूपमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले नेपालको अपार जलस्रोतलाई राष्ट्रिय समृद्धिसँग जोड्न निजी क्षेत्र, सरकार तथा विकास साझेदारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण, नीतिगत स्थायित्व र परियोजनाको द्रुत कार्यान्वयनमा जोड दिनुपर्ने बताए।
“ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने, निजी क्षेत्रको मनोबल बढाउने र नेपाललाई स्वच्छ ऊर्जा उत्पादन तथा निर्यातमा सक्षम राष्ट्रका रूपमा स्थापित गर्ने दिशामा आफ्नो भूमिका केन्द्रित हुनेछ,” पुरीले भने।
पछिल्लो समय नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तार, आन्तरिक विद्युत् खपत वृद्धि तथा विद्युत् निर्यातको सम्भावना बढिरहेका बेला आईपिप्यानले अनुभवी तथा निजी क्षेत्रसँग निकट सम्बन्ध भएका व्यक्तिलाई सल्लाहकारका रूपमा जिम्मेवारी दिएको हो।
ऊर्जा क्षेत्रका सरोकारवालाले पनि पुरीको नियुक्तिले निजी क्षेत्र र नीतिनिर्माण तहबीच समन्वय बढ्नुका साथै ऊर्जा क्षेत्रमा लगानी विस्तार, संस्थागत सुधार र दीर्घकालीन विकासका एजेन्डा अघि बढाउन थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।


























