काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) का सदस्य तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन क्षेत्रलाई मौसमी व्यवसायको सीमाभन्दा माथि उठाएर राष्ट्रिय अर्थतन्त्रको स्थायी आधारका रूपमा विकास गर्न नीतिगत, कानुनी र संरचनागत सुधार अपरिहार्य रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै वरिष्ठ पर्यटन व्यवसायी सुवेदीले पर्यटन नेपालको अर्थतन्त्रको सबैभन्दा सम्भावनायुक्त क्षेत्र भए पनि आवश्यक पूर्वाधार, स्पष्ट नीति र लगानीमैत्री वातावरणको अभावमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरेका छन्।
उनले पर्यटन व्यवसायीको पहिलो आवश्यकता पूर्वाधार विकास भएको बताएका छन्। अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने, पर्यटकीय राजमार्गको स्तरोन्नति तीव्र बनाउने तथा पर्यटकको आवागमन सहज हुने वातावरण तयार गर्नुपर्ने उनको सुझाव छ।
सुवेदीले पर्यटन क्षेत्रलाई ‘निर्यातजन्य उद्योग’सरह मान्यता दिई कर तथा रोयल्टीमा सहुलियत, सुलभ ऋणको व्यवस्था र लगानी प्रोत्साहनका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन्। पदयात्रा र पर्वतारोहण अनुमति प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउँदै सबै प्रक्रिया अनलाइनमार्फत सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
उनका अनुसार नेपालको पर्यटन काठमाडौं, पोखरा र चितवनजस्ता सीमित गन्तव्यमा केन्द्रित रहेकाले सुदूरपश्चिम, कर्णाली तथा पूर्वी नेपालका सम्भावनायुक्त क्षेत्रको योजनाबद्ध प्रवर्द्धन आवश्यक छ। नेपालको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा आक्रामक रूपमा प्रवर्द्धन गर्न डिजिटल माध्यमको प्रभावकारी उपयोग गर्नुपर्ने उनको भनाइ छ।
स्थानीय समुदायको प्रत्यक्ष सहभागिताबिना पर्यटनको दिगो विकास सम्भव नहुने उल्लेख गर्दै सुवेदीले होमस्टे, स्थानीय उत्पादन र ग्रामीण उद्यमलाई पर्यटनसँग जोडेर यसको प्रतिफल गाउँ–गाउँसम्म पुर्याउनुपर्ने बताएका छन्।
पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि विद्यमान कानुनी संरचनामा व्यापक सुधार आवश्यक रहेको उनको धारणा छ। उनले पुराना कानुन संशोधन गरी लगानीमैत्री, समयानुकूल र एकीकृत पर्यटन ऐन ल्याउनुपर्नेमा जोड दिएका छन्। साथै पर्यटक सुरक्षा, पदयात्रा व्यवस्थापन र उद्धार प्रणालीलाई कानुनी रूपमा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औंल्याएका छन्।
पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन बढाउनुका साथै होटल, ट्राभल, यातायात, पर्वतीय गाइड, हस्तकला र कृषिलगायतका क्षेत्रमा ठूलो रोजगारी सिर्जना गर्ने क्षमता राख्ने सुवेदीको भनाइ छ। पर्यटनको विस्तारले युवाको वैदेशिक पलायन घटाउनुका साथै ग्रामीण अर्थतन्त्रलाई समेत चलायमान बनाउने उनको विश्वास छ।
सुवेदीले सरकारले पूर्वाधार विकास, नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माणमा प्राथमिकता दिने तथा निजी क्षेत्रले सेवा गुणस्तर र लगानी विस्तारमा ध्यान दिने हो भने पर्यटन नै नेपालको आर्थिक समृद्धिको प्रमुख आधार बन्न सक्ने बताएका छन्।


























