काठमाडौं । एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भिल’ (Veel) ले नेपाल र भारतमा आफ्नो औपचारिक सेवा शुभारम्भ गर्दै दक्षिण एसियाली बजारमा प्रवेश गरेको छ। कम्पनीले व्यवसाय र कन्टेन्ट क्रिएटरबीचको सहकार्यलाई एउटै डिजिटल प्लेटफर्ममार्फत सहज, व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित सेवा विस्तार गरेको हो।
कम्पनीका अनुसार भिलले व्यवसायलाई उपयुक्त क्रिएटर छनोट, अभियान सञ्चालन, भिडियो सम्पादन तथा स्वीकृति, भुक्तानी व्यवस्थापन र कन्टेन्टको प्रयोग अधिकार सुरक्षित गर्ने सुविधा एउटै प्लेटफर्मबाट उपलब्ध गराउनेछ। यसैगरी नेपाल र भारतका कन्टेन्ट क्रिएटरले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रत्यक्ष रूपमा सहकार्य गर्ने अवसर पाउनेछन्।
काठमाडौंमा आयोजित औपचारिक शुभारम्भ कार्यक्रममा प्रविधि, स्टार्टअप, व्यवसाय, क्रिएटर समुदाय तथा कूटनीतिक क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो।
कार्यक्रममा कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिलीप ढकालले दक्षिण एसियामा रहेको विशाल क्रिएटर अर्थतन्त्रलाई विश्वस्तरीय प्रविधिसँग जोड्ने दीर्घकालीन लक्ष्यका साथ नेपाल र भारतमा सेवा विस्तार गरिएको बताए।
उनका अनुसार भिलले क्रिएटरलाई दिगो करियर निर्माण गर्न र व्यवसायलाई विश्वसनीय तथा प्रभावकारी कन्टेन्टमार्फत बजार विस्तार गर्न सहयोग गर्नेछ।
कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि अमेरिकी नियोगका कार्यवाहक प्रमुख स्कट उर्बोमले अमेरिकी उद्यमशीलता र नेपाली प्रतिभाबीच सहकार्य विस्तार गर्दै नयाँ अवसर सिर्जना गर्ने उदाहरणका रूपमा भिललाई व्याख्या गरे। उनले कृत्रिम बुद्धिमत्ता र प्रविधिमा आधारित नवप्रवर्तनले दुई देशबीचको व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
कम्पनीका अनुसार भिल नेपाली–अमेरिकी उद्यमी दिलीप ढकालद्वारा स्थापित एआई–सञ्चालित भिडियो मार्केटिङ प्लेटफर्म हो। यसले इमेल, मेसेजिङ एप, स्प्रेडसिट, भिडियो सम्पादन सफ्टवेयर र छुट्टाछुट्टै भुक्तानी प्रणालीमा आधारित परम्परागत प्रक्रियालाई एकीकृत गर्दै सम्पूर्ण क्रिएटर अभियान एउटै स्मार्ट कार्यप्रवाह (वर्कफ्लो) मार्फत सञ्चालन गर्ने व्यवस्था गरेको छ।
प्लेटफर्ममा व्यवसायले उत्पादन, लक्षित ग्राहक र आवश्यक कन्टेन्टबारे अभियान विवरण तयार गरेपछि क्रिएटरले आवेदन दिन सक्ने वा एआई–आधारित सिफारिस प्रणालीमार्फत छनोट हुन सक्नेछन्। छनोट भएका क्रिएटरले प्लेटफर्ममै उपलब्ध भिडियो सम्पादन उपकरण र लाइसेन्स प्राप्त सङ्गीत प्रयोग गरी कन्टेन्ट तयार गर्नेछन्। त्यसपछि ब्रान्डले समीक्षा, आवश्यक परिमार्जन, अन्तिम स्वीकृति तथा स्वीकृतिपछि स्वचालित रूपमा भुक्तानी सम्पन्न गर्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।
हाल भिलसँग विश्वभरका ४५० भन्दा बढी ब्रान्ड, ५ लाख ५० हजारभन्दा बढी प्रमाणित क्रिएटर तथा १२१ भन्दा बढी देश आबद्ध रहेका छन्। नेपाल र भारतका व्यवसायले वेबसाइटमार्फत तथा क्रिएटरहरूले मोबाइल एपमार्फत सेवा लिन सक्नेछन्।
नेपालमा स्थानीय भुक्तानी प्रणालीलाई सहज बनाउन कम्पनीले एनसीएचएल (NCHL), फोनपे (Fonepay), ईसेवा (eSewa), खल्ती (Khalti) र हाम्रो पे (Hamro Pay) सँग साझेदारी गरेको जनाएको छ। कम्पनीका अनुसार व्यवसाय र क्रिएटर दुवैका लागि स्थानीय भुक्तानी प्रणाली उपलब्ध गराउँदै नेपालको क्रिएटर अर्थतन्त्रलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।




























