काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले पुराना मोडेलका होन्डा कारमा देखिन सक्ने सम्भावित एयरब्याग जोखिम न्यूनीकरणका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ अभियान सञ्चालन गरेको छ।
कम्पनीका अनुसार सन् २००१ देखि २०१४ बीच उत्पादन भएका केही होन्डा मोडेलमा प्रयोग गरिएको एयरब्याग इन्फ्लेटरमा प्राविधिक समस्या देखिन सक्ने भएकाले सावधानीस्वरूप रिकल अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत सिटी, सिभिक, सीआर–भी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड मोडेलका सवारी प्रभावित हुन सक्ने कम्पनीले जनाएको छ। ग्राहकले आफ्नो सवारी रिकल अभियानअन्तर्गत पर्छ वा पर्दैन भन्ने जानकारी होन्डाको आधिकारिक वेबसाइटमार्फत वा आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरेर जाँच गर्न सक्नेछन्।
रिकल अभियानमा समावेश भएका सवारीको एयरब्याग परीक्षण, आवश्यक मर्मत तथा इन्फ्लेटर प्रतिस्थापन पूर्ण रूपमा निःशुल्क गरिने कम्पनीले जनाएको छ। यसका लागि ग्राहकबाट कुनै शुल्क नलिइने स्पष्ट पारिएको छ।
सम्भावित जोखिमबाट बच्न र यात्रालाई सुरक्षित बनाउन प्रभावित सवारीधनीलाई नजिकको होन्डा आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी एयरब्याग परीक्षण गराउन कम्पनीले आग्रह गरेको छ।
सेवा बुकिङ तथा थप जानकारीका लागि ग्राहकले स्याकार ट्रेडिङ कम्पनी प्रालि., धोबीघाट, ललितपुरस्थित होन्डा सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।


























