काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौंडेलले होटल व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्। जिल्ला होटल व्यवसायी संघ काठमाडौंले आज बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले पर्यटन क्षेत्रलाई व्यवस्थित, व्यवसायमैत्री र प्रतिस्पर्धी बनाउने दिशामा मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए।
मन्त्री पौंडेलले अहिले सरकार व्यवसायीसँग सम्वाद गर्ने, समस्या सुन्ने र समाधान खोज्ने पक्षमा रहेको स्पष्ट पारे। “अहिले हामी व्यवसायीलाई लादने होइन, कुरा सुन्ने हो,” भन्दै उनले व्यवसायीको हितका लागि मन्त्रालय सधैं तयार रहेको बताए।
उनले होटल व्यवसायलाई पर्यटन उद्योगकै अभिन्न अंगका रूपमा हेरिएको उल्लेख गर्दै होटललाई उद्योगसरह सुविधा उपलब्ध गराउने विषयमा मन्त्रालयले आवश्यक पहल गरिरहेको जानकारी दिए। होटल व्यवसायले उद्योगसरह सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने वातावरण निर्माण, होटल व्यवसायीलाई मन्त्रालयबाट उपलब्ध गराउन सकिने अनुदानका कार्यक्रम तथा पर्यटन क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउने नीतिगत सुधारका विषयमा समेत छलफल भइरहेको उनले बताए।
मन्त्री पौंडेलका अनुसार होटल क्षेत्रमा प्रयोग हुने विद्युत्मा लगाइएको कर हटाउने विषयमा समेत सम्बन्धित निकायसँग छलफल भइरहेको छ। पर्यटन उद्योगको विकासका लागि कर, लगानी तथा सञ्चालनसँग सम्बन्धित नीतिगत सुधारलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको उनको भनाइ थियो।
त्यसैगरी, उनले होटल व्यवसायीलाई पर्यटन विभागमा अनिवार्य रूपमा दर्ता हुन सुझाव दिँदै सरकारले निर्धारण गरेका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरे। होटल क्षेत्रलाई व्यवस्थित बनाउन व्यवसायी स्वयं जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै उनले होटल व्यवसायीहरूले आफू उद्योगी हुन् वा व्यवसायी, यस विषयमा स्पष्ट साझा धारणा बनाएर सरकारसमक्ष सुझाव दिन आवश्यक रहेको बताए।
यसअघि जिल्ला होटल व्यवसायी संघ काठमाडौंले मन्त्री पौंडेल समक्ष पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत तथा व्यवस्थापकीय सुधारका माग सहित ध्यानाकर्षण पत्र बुझाएको थियो।
संघका सचिवालय सदस्य खेमराज उप्रेतीले हाल वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटलहरूमा गरिरहेको अनुगमन छापामार शैलीमा भइरहेको भन्दै त्यसले होटल व्यवसायी त्रसित बनेको बताए। होटल व्यवसाय वस्तु बिक्री गर्ने क्षेत्र नभई सेवा उद्योग भएकाले अनुगमनको प्रकृति पनि सोहीअनुसार हुनुपर्ने उनको भनाइ थियो।
उप्रेतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाईमार्गबाट नेपाल आउने विदेशी पर्यटकहरू विशेषगरी हरियो नम्बर प्लेट भएका ट्याक्सीबाट ठगी तथा विभिन्न किसिमका हैरानीमा पर्ने गरेको विषय पनि मन्त्रीसमक्ष उठाएका थिए। विमानस्थलको ट्याक्सी व्यवस्थापन, यात्रु सहायता प्रणाली र पर्यटक सुरक्षामा तत्काल सुधार आवश्यक रहेको उनको जोड थियो।
संघका अध्यक्ष सुरेश बरालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वर्षौंदेखि देखिँदै आएको अव्यवस्थाका कारण विदेशी पर्यटक, विशेषगरी पर्यटकले अनावश्यक सास्ती भोग्नुपरेको ,तोकिएको भाडा भन्दा चर्को भाडा लिएको , स्थलमार्ग भएर सवारी साधनमा आउने भारतीय पर्यटक बसमा एक्कै छिन अड्याउँदा समेत ह्वील लक लागेको भन्दै त्यसलाई मन्त्रालयले गम्भीरतापूर्वक समाधान गर्न आग्रह गरे। उनले विमानस्थलबाटै पर्यटकले नेपालको पहिलो छाप बनाउने भएकाले त्यहाँको व्यवस्थापन सुधार पर्यटन प्रवर्द्धनका लागि अत्यावश्यक रहेको ध्यानाकर्षण गराएका थिए ।
संघले बुझाएको ध्यानाकर्षण पत्रमा होटल व्यवसायमा एमआरपी लागू नगर्न, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी तथा यात्रु व्यवस्थापन सुधार गर्न, साना तथा भाडामा सञ्चालित होटलहरूको वातावरणीय प्रक्रिया सरल बनाउन तथा होटल–रेष्टुरेन्ट सञ्चालन समय कम्तीमा राति १२ बजेसम्म कायम गर्नुपर्ने भन्दै ४ बुँदे माग राखेको छ।
अध्यक्ष बरालले सरकारसँग सहकार्य गर्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित, लगानीमैत्री र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्त्री पौंडेललाई ध्यानाकर्षण पत्र बुझाउन संघका अध्यक्ष सुरेश बराल, उपाध्यक्ष मनोहरी कँडेल, उपाध्यक्ष जितेन्द्र गिरी, उपाध्यक्ष कुमार श्रेष्ठ, कार्यवाहक महासचिव शिवलाल गिरी, लेखा समिति संयोजक श्याम चौलागाईं, सचिवालय सदस्य खेमराज उप्रेती, सल्लाहकार पी. के. शेर्पालगायत पदाधिकारीको उपस्थिति थियो।



























