काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री (कुमार) ले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, पारदर्शी र सम्मानित पेशाका रूपमा स्थापित गर्न राज्यको नीति तथा कानुनमा समयसापेक्ष सुधार आवश्यक रहेको बताएका छन्।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको छैटौँ अधिवेशन तथा साधारणसभामा मन्तव्य राख्दै अध्यक्ष खत्रीले वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या ठूलो रहेको उल्लेख गर्दै श्रमिकको हकहित संरक्षणसँगै व्यवसायलाई व्यवस्थित र सम्मानित बनाउन उच्च तहमा बहस हुनुपर्ने बताए।
उनले व्यवसायीहरू पनि विगतमा विभिन्न विषयमा चुकेको स्वीकार गर्दै अब पेशा सुधार र शुद्धीकरणको अभियानमा व्यवसायी स्वयं सक्रिय हुनुपर्ने बताए।
“यो राज्यविरुद्धको लडाइँ होइन, कसैविरुद्धको व्यक्तिगत संघर्ष पनि होइन। यो पेशा शुद्धीकरण र व्यवसायलाई सम्मानित बनाउने अभियान हो,” खत्रीले भने।
उनका अनुसार विभिन्न समयमा वैदेशिक रोजगार व्यवसायीले विभिन्न किसिमका आरोप, समस्या र कारबाहीको सामना गर्नुपरेको छ। भएका वा नभएका विषयमा समेत व्यवसायीलाई आरोपित गर्ने प्रवृत्तिले पेशाप्रति समाजमा नकारात्मक धारणा निर्माण भएको उनको भनाइ छ।
खत्रीले वैदेशिक रोजगार व्यवसायलाई सुधार गर्न कानुनसँगै राज्यले बनाउने नीति तथा नियम पनि समयसापेक्ष हुनुपर्नेमा जोड दिए। “नीति सुधारबिना हामी अग्रगामी बाटोमा जान सक्दैनौँ र वैदेशिक रोजगार व्यवसायलाई सम्मानित पेशाका रूपमा स्थापित गर्न पनि सक्दैनौँ,” उनले भने।
उनले विद्यमान नीतिगत त्रुटि सुधार तथा कानुन संशोधनका विषयमा व्यवसायीको राय माग्न सम्बन्धित प्रस्तावहरू पठाइसकिएको जानकारी पनि दिए। उक्त प्रक्रिया अघि बढिरहेको भन्दै उनले व्यवसायीहरूको सुझाव र सहभागिता महत्वपूर्ण हुने बताए।
विशेषगरी श्रमिकबाट लिइने सेवा शुल्क तथा अन्य शुल्कलाई पारदर्शी र व्यवस्थित बनाउन राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने खत्रीको भनाइ छ। श्रमिकले तिरेको शुल्कको स्पष्टता, पारदर्शिता र उचित व्यवस्थापन सुनिश्चित गर्न मन्त्रालय तथा राज्यले गम्भीरतापूर्वक पहल गर्नुपर्ने उनले बताए।
वैदेशिक रोजगार क्षेत्र ठूलो संख्यामा सेवाग्राहीले सेवा लिने महत्वपूर्ण क्षेत्र भएकाले श्रमिकको हित र न्यायसँगै व्यवसायीले निर्वाह गर्ने जिम्मेवारीलाई पनि सँगसँगै हेर्नुपर्ने खत्रीले बताए।
उनले वैदेशिक रोजगार व्यवसायीहरू एकताबद्ध भएर अघि बढेमा पेशालाई मर्यादित, पारदर्शी, व्यवस्थित र सम्मानित बनाउन सकिने विश्वास व्यक्त गरे।
अधिवेशनले आगामी दिनमा पेशा सुधार तथा शुद्धीकरणको अभियानलाई थप प्रभावकारी र परिणाममुखी बनाउने अपेक्षा राख्दै खत्रीले कार्यक्रममा सहभागी व्यवसायीहरूलाई शुभकामना दिएका थिए।


























