काठमाडौं । पूर्व युवा श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार व्यवसायीले उठाएका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको छैठौँ वार्षिक उत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै श्रेष्ठले व्यवसायीका समस्या समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाइ विशेष पहल गर्न आग्रह गरेका हुन्।
श्रेष्ठले व्यवसायीका मागप्रति सरकार सकारात्मक भएर छिट्टै समाधान दिने आफू विश्वस्त रहेको बताए। उनले व्यवसायीको समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
उनले वैदेशिक रोजगारका क्रममा अनावश्यक रूपमा थपिएका प्रक्रिया र संरचनाले व्यवसायी तथा श्रमिक दुवैलाई समस्या पारिरहेको बताए। विशेषगरी विदेश जाने श्रमिकका लागि सञ्चालनमा रहेका लेबर हेल्थ डेस्कका कारण देखिएका समस्या र अतिरिक्त खर्चबारे आफूले विगतदेखि नै आवाज उठाउँदै आएको उनको भनाइ थियो।
‘लेबर हेल्थ डेस्क हटाउनुपर्छ भनेर मैले सम्बन्धित अधिकारीहरूसँग पटक–पटक कुरा गरेको थिएँ,’ श्रेष्ठले भने, ‘व्यवसायी र श्रमिकलाई अनावश्यक दुःख दिने कुनै पनि प्रक्रिया सुधार गर्नुपर्छ।’
श्रेष्ठले वैदेशिक रोजगार व्यवसायलाई केवल व्यवसायीको कमाइसँग जोडेर हेर्न नहुने बताए। यस क्षेत्रले ठूलो संख्यामा रोजगारी सिर्जना गर्नुका साथै विदेशमा रहेका नेपाली श्रमिकमार्फत ठूलो रकम नेपाल भित्र्याउन महत्वपूर्ण योगदान गरिरहेको उनको भनाइ थियो।
उनले आफू श्रम तथा रोजगारमन्त्री हुँदा कतारबाट आएको टोलीसँग भएको छलफलको प्रसंग उल्लेख गर्दै नेपाली श्रमिकले सम्बन्धित देशको अर्थतन्त्र र विकासमा पुर्याएको योगदानबारे आफूले स्पष्ट रूपमा धारणा राखेको बताए। नेपाली श्रमिकले विदेशमा कठिन परिस्थितिमा काम गरेर पठाएको रकमले नेपालको अर्थतन्त्रलाई समेत महत्वपूर्ण योगदान दिएको श्रेष्ठको भनाइ थियो।
‘विदेशमा नेपालीहरूले कति कठिन मेहनत गरेर कमाएका छन् भन्ने कुरा पनि बुझ्नुपर्छ। उनीहरूले पठाएको पैसाले घरपरिवार मात्र होइन, देशको अर्थतन्त्रलाई समेत चलायमान बनाएको छ,’ उनले भने।
श्रेष्ठले वैदेशिक रोजगार व्यवसायीमाथि अनावश्यक दबाब, अन्याय वा आतंक सिर्जना गर्ने काम अन्त्य हुनुपर्ने बताए। व्यवसायीले कानूनको पालना गर्नुपर्ने भए पनि राज्यले पनि व्यवसायीलाई सम्मानपूर्वक र न्यायपूर्ण व्यवहार गर्नुपर्ने उनको धारणा थियो।
उनले विभिन्न राजनीतिक दल तथा संस्थामा आबद्ध व्यवसायी नेताहरूलाई आफ्नो व्यक्तिगत तथा संस्थागत मतभेदभन्दा माथि उठेर व्यवसायीका साझा मुद्दामा एकताबद्ध हुन आग्रह गरे।
‘तपाईंहरू विभिन्न पार्टी र संस्थामा हुनुहोला, तर व्यवसायीका साझा समस्या समाधानका लागि एक ठाउँमा उभिन आवश्यक छ,’ श्रेष्ठले भने, ‘आफ्नो हक र अधिकार प्राप्तिका लागि कुनै कसर बाँकी नराखी एकताबद्ध भएर अघि बढ्न म आग्रह गर्दछु।’
श्रेष्ठले पछिल्लो समय विभिन्न राजनीतिक दलबीचको सम्बन्ध र एकअर्काप्रतिको दृष्टिकोणमा समेत परिवर्तन आएको उल्लेख गरे। नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि स्वदेश फर्कँदा भएको स्वागतको प्रसंग उल्लेख गर्दै उनले राजनीतिक असहमति भए पनि लोकतान्त्रिक अभ्यास र सामाजिक सद्भाव कायम राख्नुपर्ने बताए।
उनले सरकारलाई असहयोग गर्ने नभई सरकारसँग संवाद र सहकार्य गर्दै व्यवसायीका समस्या समाधान गर्नेतर्फ अघि बढ्न व्यवसायीलाई आग्रह गरे। सरकारको इच्छाशक्ति भए वैदेशिक रोजगार क्षेत्रका धेरै समस्या समाधान गर्न सकिने उनको भनाइ थियो।
श्रेष्ठले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन राज्य, व्यवसायी तथा राजनीतिक नेतृत्वबीच सहकार्य आवश्यक रहेको बताए।


























