काठमाडौं । गौरीशंकर गाउँपालिका–४ ले चालु विकास निर्माण तथा सेवा प्रवाहमा शिक्षा, स्वास्थ्य र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको वडा अध्यक्ष शिवहरी खत्रीले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रलाई प्राथमिकतामा राख्दै विकासका कार्यक्रम सञ्चालन गरिएको र गुणस्तरीय शिक्षा प्रदान गर्न उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई प्रोत्साहन र सम्मान गर्ने अभ्यास गरिएको बताए।
उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा शिक्षकलाई सम्मान गरी उनीहरूको मनोबल बढाउने काम भइरहेको उनको भनाइ छ। “गुणस्तरीय शिक्षा र उत्कृष्ट विद्यार्थी उत्पादनका लागि स्थानीय तहले प्रोत्साहनको वातावरण मिलार्का छौ ” अध्यक्ष खत्रीले भने, “त्यसैले उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान तथा पुरस्कारमार्फत हौसला प्रदान गर्दै आएका छौँ।”
कृषितर्फ स्थानीय युवालाई गाउँमै बसेर आम्दानी गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले आधुनिक तथा व्यावसायिक खेतीलाई प्रोत्साहन गरिएको उनले बताए। कृषि क्षेत्रमा उत्पादन र आम्दानीको सम्भावना देखाउँदै युवालाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ।
वडाले स्थानीय बासिन्दालाई गाउमै तरकारी उत्पादन गर्न प्रोत्साहन गर्दै विभिन्न जातका तरकारीका बीउ वितरणसमेत गर्दै आएको छ। बीउ तथा कृषि सामग्री प्राप्त गरेका कतिपय कृषकले ३० हजार, ४० हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएको अध्यक्ष खत्रीले बताए।
“आफ्नै गाउँमा बसेर पनि कृषि क्षेत्रबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने देखाउन खोजेका छौँ,” उनले भने, “कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै उत्पादनमा जोड दिएका छौँ।”
स्वास्थ्य सेवातर्फ स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई अझ प्रभावकारी बनाउने काम भइरहेको अध्यक्ष खत्रीले बताए। गाउँघरमा स्वास्थ्यसम्बन्धी सूचना तथा जनचेतना पुर्याउन महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण भएकाले उनीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिएको उनले बताए।
स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई आवश्यक सहयोग, सामग्री तथा प्रोत्साहन प्रदान गर्दै आएको र स्वास्थ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिएको अध्यक्ष खत्रीको भनाइ छ।
ग्रामीण सडकतर्फ पनि वर्षायाममा यातायात अवरुद्ध हुन नदिन वडा सक्रिय रहेको उनले बताए। ग्रामीण सडकमा समस्या आए तत्काल जनशक्ति परिचालन गरी सडक सञ्चालनमा ल्याउने गरिएको उनको भनाइ छ।
“सडक अवरुद्ध भयो भने एक–दुई घण्टामै आवश्यक व्यवस्था गरेर सञ्चालन गर्ने गरेका छौँ,” अध्यक्ष खत्रीले भने।
यद्यपि मुख्य सडक भने निर्माण व्यावसायिले समयमै निर्माण नगरिदिएको कारण समस्या देखिएको उनले बताए। ग्रामीण सडक भने अहिले अधिकांश समय सञ्चालनमा रहेको उनको भनाइ छ।
सामाजिक सुरक्षा भत्ता वितरणलाई समेत सहज बनाइएको र बैंकसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिक, एकल महिला तथा अन्य लाभग्राहीलाई वडाबाट आवश्यक सहजीकरण गर्ने गरिएको तथा काठमाडौं बसोबास गरिरहेका वडावासीलाई समेत सामाजिक सुरक्षा भत्ता लिन सहज होस् भनेर आवश्यक सिफारिस तथा बैंकसँग समन्वय गर्ने गरिएको अध्यक्ष खत्रीले जानकारी दिए।
वडाको आगामी प्राथमिकतामा शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिसँगै आवश्यक पूर्वाधारको विकासलाई निरन्तरता दिने अध्यक्ष खत्रीले बताए। स्थानीय आवश्यकताका आधारमा विकासका कार्यक्रम अघि बढाउँदै नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गरी काम गर्ने उनको भनाइ छ।


























