काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन्। सोल्टी होटलमा सम्पन्न नाट्टाको ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमितिको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धाबीच पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्।
सन् २०२६–२०२८ कार्यकालका लागि भएको निर्वाचनमा पाण्डेले १८८ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी युविका भण्डारीले १५८ मत तथा जिश्वा तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरे।
एभरेस्ट मिराकल ट्राभल्स एन्ड टुर्सका निर्देशक पाण्डेसँग पर्यटन तथा ट्राभल व्यवसायमा दुई दशकभन्दा लामो अनुभव छ।
निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा निर्वाचित भएका छन्। उनले विष्णु पाण्डे र वरुण मेहतालाई पछि पारे। उपाध्यक्षमा १७७ मतसहित सविता केसी भट्टराई निर्वाचित भइन्।
त्यस्तै, महासचिवमा १५८ मतसहित राजकुमार देवकोटा र सचिवमा १९५ मतसहित रमेश पराजुली निर्वाचित भए। कोषाध्यक्षमा २०८ मतसहित डिकी शेर्पा तथा सह–सचिव/सह–कोषाध्यक्षमा १६६ मतसहित जीवन कोइराला निर्वाचित भएका छन्।
आठ सदस्यीय कार्यसमिति सदस्यका लागि भएको निर्वाचनमा स्मारिका थापाले सर्वाधिक २११ मत प्राप्त गरिन्। त्यसैगरी प्रकाश लोहनी, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभास पौडेल सदस्यमा निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष पाण्डेले नाट्टाको नेतृत्वमा सुशासन, पारदर्शिता र सदस्यहरूको बृहत्तर सहभागितालाई प्राथमिकता दिने बताएका छन्। उनले पर्यटन तथा ट्राभल व्यवसायीका व्यावसायिक समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।
पाण्डेको मुख्य एजेन्डामा नाट्टाका सेवा तथा गतिविधिलाई प्रविधिमैत्री बनाउन ‘डिजिटल नाट्टा’को अवधारणा कार्यान्वयन गर्ने, अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनलाई विस्तार गर्ने तथा पर्यटन व्यवसायमा रहेका नीतिगत अड्चन हटाउन पहल गर्ने विषय छन्।
पर्यटन व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या सम्बन्धित निकायसमक्ष उठाउने तथा पर्यटनमैत्री नीति निर्माणका लागि सरकारसँग पैरवी गर्ने नाट्टाको प्रमुख भूमिकामध्ये हुन्। नयाँ नेतृत्वले सदस्य व्यवसायीका व्यावसायिक समस्या समाधानसँगै नेपालको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तारमा प्रभावकारी भूमिका खेल्नुपर्ने चुनौती छ।
पर्यटन क्षेत्रलाई थप प्रतिस्पर्धी र व्यवस्थित बनाउन निजी क्षेत्र, सरकार र सरोकारवाला निकायबीच सहकार्य बढाउँदै पर्यटन व्यवसायमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको व्यवसायीहरूले बताएका छन्।


























