काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्वमन्त्री विशाल खड्काले लोकतन्त्र प्राप्तिका लागि अग्रजहरूले गरेको संघर्ष र योगदानलाई भुल्न नहुने बताएका छन्। उनले राजनीतिक परिवर्तनका लागि गरिएको संघर्षको इतिहास नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिएका छन्।
दोलखाका नायकहरू नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले दोलखाको राजनीतिक इतिहास पञ्चायतविरोधी आन्दोलनदेखि लोकतन्त्र स्थापनासम्मको संघर्षसँग जोडिएको बताए।
उनले लोकतन्त्र सहज रूपमा प्राप्त भएको उपलब्धि नभई लामो संघर्ष, त्याग र योगदानको परिणाम भएको उल्लेख गरे। दोलखाका विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानलाई पुस्तकका माध्यमबाट अभिलेखीकरण गर्ने प्रयास महत्वपूर्ण रहेको उनको भनाइ थियो।
खड्काले अग्रजहरूले कठिन परिस्थितिमा गरेको संघर्ष, त्याग र योगदानलाई नयाँ पुस्ताले बुझ्न आवश्यक रहेको बताए। इतिहासलाई संरक्षण गर्दै भावी पुस्तालाई त्यसबारे जानकारी गराउनु सबैको जिम्मेवारी भएको उनले उल्लेख गरे।
देश र राजनीतिक दलहरू विभिन्न चुनौतीबीच अघि बढिरहेको उल्लेख गर्दै खड्काले राजनीतिक जीवनमा आशा र भरोसा कायम राख्नुपर्ने बताए। लोकतान्त्रिक मूल्य, मान्यता र राजनीतिक परिवर्तनका लागि योगदान गरेका अग्रजहरूको सम्मान गर्दै उनीहरूले देखाएको बाटोबाट अघि बढ्नुपर्नेमा उनले जोड दिए।
दोलखाका राजनीतिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको योगदानलाई समेटेर तयार गरिएको ‘दोलखाका नायकहरू’ पुस्तकले जिल्लाको राजनीतिक इतिहासलाई दस्तावेजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने खड्काले विश्वास व्यक्त गरे।



























