काठमाडौं बाढी तथा पहिरोबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाली कम्युनिष्ट पार्टी जिल्ला कार्य संयोजन समिति दोलखाले जिल्लाव्यापी अभियान सञ्चालन गर्ने भएको छ।
बाढीपीडितका लागि जिल्ला पार्टीको तर्फबाट राहत तथा उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउन दुई दिनभित्र कार्यक्रमको खाका तयार गर्ने निर्णय गरिएको छ। वडा–वडामा सम्पर्क गरी नेता तथा कार्यकर्ता परिचालन गर्ने, प्रभावित परिवारको विवरण सङ्कलन गर्ने र राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्ने गरी योजना बनाइने जनाइएको छ।
जिल्ला कार्य संयोजन समितिका संयोजक अशोककुमार दाहालको अध्यक्षतामा बसेको विस्तारित बैठकले विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित तथा विस्थापित परिवारको तत्काल उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न निर्णय गरेको हो।
बैठकले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति एक मिनेट मौनधारणसहित श्रद्धाञ्जली व्यक्त गरेको थियो। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी तथा पीडित परिवारको पुनःस्थापनाका विषयमा समेत छलफल गरिएको पार्टीले जनएको छ।
विपद्को समयमा पार्टीसँग आबद्ध जनप्रतिनिधिहरूले आफ्नो १५ दिनको पारिश्रमिक तथा अन्य सहयोग राहतका लागि उपलब्ध गराउने निर्णय बैठकले गरेको छ। उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जनाइएको छ।
त्यसैगरी पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणबाट राहत संकलन गरी प्रभावित क्षेत्रमा पठाउने निर्णयसमेत गरिएको छ।
बाढीका कारण दोलखाका नागरिकसमेत बेपत्ता भएको विषयलाई बैठकले प्राथमिकतामा राखेको छ। बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि केन्द्रीय सदस्य शङ्कर लामालाई केन्द्र र जिल्लाबीच समन्वय गर्ने जिम्मेवारी दिइएको छ।
जिल्ला सहइन्चार्ज गोपाल न्यौपानेको संयोजकत्वमा सूचना सङ्कलन, खोजी, उद्धार तथा राहत समन्वय समिति गठन गरिएको छ। समितिमा बर्जुराम घतानी, होम पाठक, मोहन थापा र अप्सरा चौलागाईं सदस्य रहेका छन्।
राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन जिल्लाका नौवटै स्थानीय तहमा पालिकास्तरीय समन्वय तथा सहजीकरण समिति गठन गरिएको छ।
समितिको संयोजकको जिम्मेवारी क्रमशः:
शैलुङ गाउँपालिका — रिमालबाबु श्रेष्ठ
तामाकोशी गाउँपालिका — पोषण प्रताप केसी
गौरीशङ्कर गाउँपालिका — विश्वास कार्की
विगु गाउँपालिका — सञ्जीव ओली
कालिञ्चोक गाउँपालिका — कुलबहादुर बुढाथोकी
भीमेश्वर नगरपालिका — तारानाथ चौलागाईं
मेलुङ गाउँपालिका — बैकुण्ठ भण्डारी
वैतेश्वर गाउँपालिका — भुवन घिमिरे
जिरी नगरपालिका — निमपल्दे शेर्पा
यी समितिले सम्बन्धित पालिकाभित्रका पीडित तथा प्रभावित परिवारको वास्तविक विवरण सङ्कलन गर्ने, बेपत्ता नागरिकको खोजी तथा उद्धारमा सहजीकरण गर्ने र राहत वितरणका लागि स्थानीय सरकारसँग समन्वय गर्नेछन्।
पीडित तथा प्रभावित परिवारका लागि उचित राहतको व्यवस्था गर्न सम्बन्धित पालिका सरकारसँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।
राष्ट्रिय सभा सदस्य तथा जिल्ला सहइन्चार्ज घनश्याम रिजालको नेतृत्वमा राहत संकलन गरी प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाइने पार्टीले जनाएको छ।
बैठकले केन्द्रसँग आवश्यक समन्वय गरी विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ।
बैठकले पछिल्लो समय बढ्दै गएको महिला हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै महिला सशक्तीकरण, जागरण तथा जनचेतना अभिवृद्धिका लागि उपयुक्त समयमा दोलखामा महिला हिंसाविरुद्ध जिल्ला सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ।
यसैगरी जिल्लाका सबै जनसङ्गठनको एकता भेला आयोजना गर्ने तथा जिल्ला तहमा विशेष संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।


























