काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमितिले वैदेशिक रोजगार क्षेत्रमा हुने सिण्डिकेट, एकाधिकार, तथा अनुचित मिलेमतोविरुद्ध दृढतापूर्वक उभिने सार्वजनिक संकल्प गरेको छ ।
संघका अध्यक्ष डिकबहादुर खत्री (कुमार) सहित पदाधिकारी तथा कार्यसमितिका २१ सदस्यले संयुक्त रूपमा संकल्पपत्र जारी गर्दै आफूहरू व्यक्तिगत रूपमा/ आफू सम्बद्ध इजाजतपत्रवाला संस्थामार्फत कुनै पनि प्रकारको सिण्डिकेटमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुने प्रतिबद्धता जनाएका हुन् ।
संघले आर्थिक प्रलोभन, व्यक्तिगत लाभ, भ्रम, दबाब र धाकधम्कीका कारण व्यवसायीको साझा हित, समान अवसर र निष्पक्ष प्रतिस्पर्धाको पक्षमा लिएको अडानबाट पछि नहट्ने जनाएको छ ।
विशेषगरी मलेसियासँग सम्बन्धित सिण्डिकेट गतिविधिमा संलग्न रहेको आरोप लागेका केही व्यक्ति वा समूहले विभिन्न प्रलोभन तथा प्रभाव प्रयोग गरी व्यवसायीलाई आफ्नो पक्षमा तान्ने र भ्रम फैलाउने प्रयास भइरहेको जानकारी प्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले संविधान, प्रचलित कानुन र राज्यका निकायभन्दा माथि कुनै व्यक्ति, समूह पहुँचको प्रभाव स्वीकार नगर्ने स्पष्ट पारेको छ । व्यवसायीहरूलाई कुनै पनि प्रकारको प्रलोभन, दबाब वा भ्रममा नपरी सिण्डिकेटको जालमा नफस्न र त्यस्ता गतिविधिको माध्यम नबन्न संघले आग्रह गरेको छ ।
व्यवसायी एकता, समान अवसर र स्वस्थ प्रतिस्पर्धाका पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीलाई आह्वान गर्दै संघले सिण्डिकेटविरुद्ध निर्णायक रूपमा अघि बढ्ने जनाएको छ ।
संघले कुनै पनि प्रलोभन, दबाब वा धम्कीबाट पछि नहटी सिण्डिकेट तथा एकाधिकार विरुद्धको अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धतासमेत जनाएको छ ।
सार्वजनिक संकल्पपत्रमा संघका अध्यक्ष डिक बहादुर खत्री (कुमार), प्रथम उपाध्यक्ष महेशकुमार बस्नेत, द्वितीय उपाध्यक्ष अनिल बोगटी, तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल, महासचिव हिरा बहादुर डाँगी (हरि) र कोषाध्यक्ष धनमाया सिंजालीले हस्ताक्षर गरेका छन् ।
त्यस्तै सचिव केदारनाथ अधिकारी (दिपेन्द्र) तथा कार्यसमिति सदस्यहरू रमा खड्का, तारा तामाङ, तारामणि राई, ध्रुव जिसी, भावना गजुरेल, रवीन्द्र राई, विवश ढुंगाना (दिपक), राजेन्द्र बस्नेत, दिक्षा थापालिया, देवीप्रसाद गिरी, बाबुराम न्यौपाने, शिवहरि मैनाली (शितल), गीता राउत र श्यामचन्द्र खतिवडा सहितले संकल्पपत्रमा हस्ताक्षर गरेका छन् ।
संघले संकल्पको मूल नाराका रूपमा ‘एकता हाम्रो शक्ति, स्वस्थ प्रतिस्पर्धा हाम्रो अभियान, सिण्डिकेट अन्त्य हाम्रो प्रतिबद्धता’ भदौ १७ गते उक्त सार्वजनिक संकल्प जारी गरेको हो ।


























