काठमाडौं । दोलखाको शैलुङ गाउँपालिका–१ स्थायी ठेगाना भई विभिन्न पेशा, व्यवसाय तथा व्यवस्थापनका कारण काठमाडौंमा बसोबास गर्दै आएका नागरिकका लागि वडा कार्यालयले काठमाडौंमै एकहप्ते सेवा सञ्चालन गर्नेछ।
काठमाडौंमा रहेका शैलुङ गाउपालिका वडा १ को नागरिकलाई सेवा केन्द्रसम्म ल्याउनको लागि युवा नेता तथा समाजसेवी सेरफ मोक्तानले सहजीकरण गरिरहेका छन ।मोक्तानले सेवा दिइरहेको स्थलको बारेमा जानकारी गराउने र काठमाडौंमै सेवा लिनको लागि कोहि पनि नछुटुन भनेर निरन्तर टेलीफोन मार्फत जानकारी गराइरहेका छ्न।
भदौ २१ गतेदेखि २६ गतेसम्म काठमाडौंको जडिबुटी स्थित होटल आभारमा सञ्चालन हुने छ।सेवामा काठमाडौंमा रहेका वडावासीले जन्म, मृत्यु तथा विवाह दर्ता, सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका सेवा प्राप्त गर्नेछन्।
सामान्य प्रशासनिक कामका लागि समेत काठमाडौंमा रहेका नागरिकहरू दोलखा पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो। वडा कार्यालयले काठमाडौंमै सेवा उपलब्ध गराउने भएपछि नागरिकलाई समय, खर्च र यात्राको झन्झटबाट राहत पुग्नेछ।
संघीयता कार्यान्वयनसँगै स्थानीय तहले नागरिकलाई सहज र पहुँचयोग्य रूपमा सेवा प्रवाह गर्ने उद्देश्यअनुसार शैलुङ–१ ले काठमाडौंमा रहेका आफ्ना नागरिकलाई लक्षित गरी सेवा सञ्चालन गरिएको हो।
काठमाडौंमै वडा कार्यालयको सेवा पाउने भएपछि सेवाग्राहीहरूले जनप्रतिनिधिलाई धन्यवाद दिएका छन्। उनीहरूले सामान्य कामका लागि समेत दोलखा पुग्नुपर्ने बाध्यताबाट मुक्त हुने बताएका छन्।
वडा अध्यक्ष वीरबहादुर घतानीले विभिन्न कारणले काठमाडौंमा रहेका वडावासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौंमै एकहप्ते सेवा सञ्चालन गर्न लागिएको बताए।


























