काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्रका अध्यक्ष नन्दराज घतानीले दलित समुदायको समस्या छुवाछूतमा मात्र सीमित नभएको बताएका छन्। उनले दलित समुदायलाई लामो समयदेखि राज्यसत्ता, राजनीतिक स्रोत, अवसर र सूचनाबाट समेत अलग राखिँदै आएको बताए।
सामाजिक न्याय तथा रूपान्तरणमा प्राज्ञिक अगुवाइ ऐक्यबद्धता कार्यक्रममा बोल्दै घतानीले नेपालको जात व्यवस्थाले दलित समुदायलाई राज्यको संरचना र स्रोतसँग जोडिन नदिएको बताए।
उनका अनुसार जात व्यवस्थालाई धार्मिककरण हुँदै राजाको हुकुमी शासन र पछि राणा शासनका क्रममा कानुनी वैधता दिँदै संस्थागत गरिएको थियो। सन् १९१० को मुलुकी ऐनसम्म आइपुग्दा जातकै आधारमा फरक–फरक दण्ड–सजायको व्यवस्था गरिएको उनको भनाइ छ।
‘एउटै अपराध गर्दा पनि जातका आधारमा फरक–फरक सजाय हुने कानुनी व्यवस्था निर्माण गरियो। यसले राज्यबाटै जातीय विभेदलाई संस्थागत र व्यवस्थित गर्यो,’ घतानीले भने।
उनले दलित समुदायको समस्या केवल छुवाछूत नभई मानिसलाई मानिसका रूपमा हेर्ने दृष्टिकोणसँग जोडिएको बताए। समाजले व्यक्तिलाई उसको मानवीय पहिचानभन्दा पहिले जातका आधारमा हेर्ने संस्कार विकास गरेको भन्दै उनले यस्तो मानसिकता परिवर्तन आवश्यक रहेको बताए।
‘हामी दलित, कामी, दमाई, क्षेत्री वा बाहुन देख्छौँ, तर मान्छे देख्दैनौँ। यही मानसिकताले कसैलाई आफूभन्दा सानो, तल्लो वा कमजोर ठान्ने प्रवृत्ति जन्माउँछ,’ घतानीले भने।
उनले दलित समुदायलाई समान अवसर, राज्यस्रोतमा पहुँच र मानवीय मर्यादासहित मूलधारमा जोड्न सामाजिक सोच र संरचनात्मक विभेद दुवै परिवर्तन गर्नुपर्नेमा जोड दिए।


























