काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि नेपाली सहायक कामदारको आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सूचनाअनुसार इजरायलले १ हजार ४६४ जना नेपाली कामदार माग गरेको हो ।
माग गरिएकामध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष छन् । इच्छुक नेपाली नागरिकले २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने विभागले जनाएको छ ।
विभागका अनुसार इच्छुक उम्मेदवारले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ः५९ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटअन्तर्गत रहेको FEIMS प्रणालीमार्फत दिन सकिनेछ ।
छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली शेकेल (NIS) तलब पाउनेछन् । इजरायली सरकारको प्रचलित नियमअनुसार ओभरटाइम सुविधा पनि उपलब्ध हुने विभागले जनाएको छ ।
कामदारले सातामा ४२ घण्टा काम गर्नुपर्नेछ भने सातामा एक दिन बिदा पाउनेछन् । वार्षिक बिदा भने इजरायलको प्रचलित कानुनअनुसार हुने सूचनामा उल्लेख छ ।
कामदारका लागि खानाको व्यवस्था रोजगारदाताले नगर्ने भए पनि बस्ने व्यवस्था रोजगारदाता कम्पनीले गर्नेछ तर, आवासका लागि लाग्ने खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा रोजगारीका लागि ठूलो संख्यामा आवेदन खुलेसँगै इच्छुक नेपालीका लागि वैदेशिक रोजगारीको अवसर सिर्जना भएको छ ।



























