काठमाडौं । विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित करिब ६ सय परिवारलाई दराज नेपालले करिब ४५ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको छ।
कम्पनीका अनुसार बाढी प्रभावित समुदायका लागि ३० हजार अमेरिकी डलर बराबरको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री पहिचान गरी सरकारसँगको समन्वयमा राहत सामग्री खरिद तथा व्यवस्थापन गरिएको दराजले जनाएको छ।
राहत सामग्रीमा चामल, दाल, चना, नुन, सोयाबिन, खानेतेल, चिया र बिस्कुटलगायत लामो समयसम्म सुरक्षित राख्न सकिने खाद्य सामग्री छन्। सरकारमार्फत राहत सामग्री प्रभावित परिवारसम्म पुर्याइने कम्पनीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खाना पकाउन तथा वितरण गर्न आवश्यक भाँडाकुँडालगायत सामग्रीको आवश्यकता समेत देखिएकाले आगामी चरणमा त्यस्ता सामग्री उपलब्ध गराउने तयारी भइरहेको दराजले जनाएको छ। त्यसका लागि सरकारसँगको समन्वय र स्थलगत आवश्यकताको मूल्यांकन गरिने कम्पनीको भनाइ छ।
बाढीका कारण सडक तथा यातायात पूर्वाधारमा क्षति पुग्दा दराजको लजिस्टिक्स तथा डेलिभरी सेवामा समेत असर परेको छ। कम्पनीले विभिन्न मार्गको अवस्था निरन्तर निगरानी गरिरहेको जनाएको छ।
प्रभावित क्षेत्रमा सडक तथा यातायातको अवस्था प्रतिकूल रहेकाले केही समय डेलिभरी तथा सेवामा ढिलाइ वा अवरोध आउन सक्ने दराजले जनाएको छ। सुरक्षित र अनुकूल अवस्था रहेका क्षेत्रमा भने लजिस्टिक्स साझेदार तथा सम्बन्धित निकायसँगको समन्वयमा सेवा सञ्चालन तथा पुनःस्थापनाको काम भइरहेको कम्पनीले बताएको छ।
दराज नेपालका प्रबन्ध निर्देशक बेन यीले विपद्का बेला स्थलगत आवश्यकता पहिचान गरी छिटो र प्रभावकारी सहयोग पुर्याउन कम्पनी सरकारसँग समन्वयमा रहेको बताए।
“प्रभावित परिवार तथा समुदायलाई अत्यावश्यक राहत उपलब्ध गराउन र समग्र विपद् प्रतिकार्यमा सहयोग गर्न हामी नेपाल सरकारसँग नजिकबाट समन्वय गरिरहेका छौं,” उनले भने।
तत्कालीन राहतपछि पनि सहयोगलाई निरन्तरता दिने दराजले जनाएको छ। उद्धार तथा राहतको तत्कालीन आवश्यकता पूरा भएपछि सरकारसँगको समन्वयमा पुनर्निर्माण तथा पुनःस्थापनाका क्षेत्रमा समेत योगदान गर्ने सम्भावना पहिचान गरिने कम्पनीले जनाएको छ।



























