काठमाडौं । नेपाली हिन्दू महिलाले आज अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन्। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा बिहानैदेखि काठमाडौंलगायत देशभरका विभिन्न धार्मिकस्थलमा व्रतालु तथा श्रद्धालुको चहलपहल बढेको छ।
ऋषि पञ्चमीका दिन महिलाले बिहानै नित्यकर्म पूरा गरी स्नान गरेर सप्तऋषिको पूजा गर्ने धार्मिक परम्परा छ। कतिपय स्थानमा नदी, खोला, ताल तथा पोखरीमा स्नान गरी दत्तिउनले दाँत माझ्ने तथा परम्पराअनुसार शुद्धीकरणका विधि पूरा गर्ने चलन छ।
यस दिन कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ गरी सप्तऋषि तथा अरुन्धतीको पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार ऋषि पञ्चमीको व्रत तथा पूजाबाट जान–अनजानेमा भएका गल्तीबाट मुक्ति र आत्मशुद्धि हुने विश्वास छ।
काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिलाको भीड लागेको छ। त्यस्तै, देशका विभिन्न स्थानमा रहेका ऋषेश्वर तथा अन्य धार्मिकस्थलमा पनि श्रद्धालुहरू पूजा–आराधना गर्न पुगेका छन्।
हरितालिका तीजसँग जोडिएको ऋषि पञ्चमीलाई नेपाली हिन्दू महिलाले विशेष धार्मिक आस्थाका साथ मनाउँदै आएका छन्।




























