काठमाडौं । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले टुर अपरेटर्स एसोसिएसन अफ बंगलादेश (TOAB) का नवनिर्वाचित पदाधिकारी तथा सञ्चालक समितिसँग भेटवार्ता गरेका छन्।
राजदूत भण्डारीले TOAB का अध्यक्ष मोहम्मद हनिफको नेतृत्वमा रहेको नवनिर्वाचित सञ्चालक समितिसँग सोमबार बिहान नेपाली राजदूतावास, ढाकामा भेटवार्ता गरेका हुन्।
भेटवार्तामा नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने तथा दुई देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको राजदूतावासले जनाएको छ।
त्यस अवसरमा आगामी १४औँ बंगलादेश ट्राभल एन्ड टुरिजम फेयर (BTTF 2026) का लागि भइरहेको तयारीबारे समेत छलफल भएको थियो। आगामी अक्टोबरमा ढाकामा आयोजना हुने उक्त पर्यटन मेलालाई नेपाल–बंगलादेशबीच पर्यटन आदानप्रदान विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ।
नेपाल र बंगलादेशबीच पर्यटन, संस्कृति तथा जनस्तरको सम्बन्धलाई थप विस्तार गर्न यस्ता भेटवार्ता र पर्यटनसम्बन्धी कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



























