काठमाडौं । नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नेपालीको सहयोगार्थ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, यूएईको आयोजनामा ‘तीज फर नेपाल’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
अन्नपूर्णा ग्रिल हाउस रेस्टुरेन्टको प्रस्तुतिमा आयोजित कार्यक्रममा नेपालबाट यूएई पुगेका चर्चित गायक खेम सेन्चुरी, गायिका मिचु धिमाल, गायिका जानुका तामाङलगायत कलाकारले प्रस्तुति दिएका थिए। यूएईमा रहेका नेपाली कलाकारले समेत विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए।
बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा नेपाली समुदायका दर्शकको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रम केवल सांस्कृतिक मनोरञ्जनमा सीमित नभई नेपालप्रतिको माया, सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको अभियानका रूपमा आयोजना गरिएको समाजले जनाएको छ। कार्यक्रममार्फत बाढीपीडितका लागि सहयोग रकम संकलन गरिएको हो।
आयोजकका अनुसार विपत्तिका कारण कार्यक्रम नै रद्द गर्नुको सट्टा कार्यक्रमलाई सहयोग संकलनको माध्यम बनाउँदै पीडित नेपालीसम्म सहयोग पुर्याउने उद्देश्य राखिएको हो। संकलित सहयोग रकम पारदर्शी रूपमा सम्बन्धित बाढीपीडितसम्म पुर्याउने प्रतिबद्धता पनि समाजले जनाएको छ।
कार्यक्रमबाट संकलित सहयोग रकम र बाढीपीडितका लागि गरिने आगामी सहयोग तथा कार्ययोजनाबारे समाजले छिट्टै आधिकारिक रूपमा जानकारी सार्वजनिक गर्ने जनाएको छ।
कार्यक्रम सफल बनाउन आर्थिक, नैतिक तथा व्यवस्थापकीय सहयोग गर्ने सहयोगी संस्था, व्यवसायिक प्रतिष्ठान तथा विभिन्न व्यक्तित्वप्रति आयोजकले आभार व्यक्त गरेको छ। त्यस्तै, कार्यक्रमको तयारीदेखि समापनसम्म खटिएका समाजका पदाधिकारी तथा सदस्य, स्वयंसेवक, व्यवस्थापन, प्राविधिक र प्रचारप्रसारमा संलग्न सबैप्रति पनि धन्यवाद व्यक्त गरिएको छ।
प्रवासमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्न नेपाली समुदाय एकजुट हुनुपर्ने सन्देश दिँदै आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले ‘हामी जहाँ भए पनि नेपालका लागि एकजुट छौँ’ भन्ने भावना व्यक्त गरेका थिए।



























