काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले प्रतिस्पर्धी र गुणस्तरीय वस्तु तथा सेवा विश्व बजारमा प्रवर्द्धन गर्दै ‘मेड इन बंगलादेश’ ब्रान्डलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुपर्ने बताएका छन्।
काठमाडौंको एक होटलमा सोमबार आयोजित वाल्टनको ग्लोबल डिस्ट्रीब्युटर्स मिटमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै राजदूत रहमानले बंगलादेशले उत्पादन गर्ने गुणस्तरीय विद्युतीय तथा इलेक्ट्रोनिक्स सामग्रीलाई विश्व बजारमा विस्तार गर्न मार्केटिङ र ब्रान्ड प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।
उनले बंगलादेशको प्रमुख विद्युतीय तथा इलेक्ट्रोनिक्स उपकरण उत्पादकका रूपमा वाल्टनले उत्पादन, अनुसन्धान, नवप्रवर्तन र गुणस्तर व्यवस्थापनमा गरेको प्रगतिका लागि प्रशंसा गरे। वाल्टन प्लाजाका उत्कृष्ट बिक्री प्रतिनिधिलाई सम्मान तथा पुरस्कार दिने कम्पनीको पहललाई पनि उनले सकारात्मक रूपमा लिँदै उत्कृष्ट प्रदर्शन गर्ने जनशक्तिको योगदानको कदर आवश्यक रहेको बताए।
नेपालमा सन् २०१० देखि वाल्टनसँग सहकार्य गर्दै आएको थापा समूहको भूमिकाको प्रशंसा गर्दै राजदूत रहमानले नेपालमा वाल्टनको बजार विस्तारका लागि वितरण, बिक्री तथा बिक्रीपछिको सेवाको सञ्जाल थप विस्तार गर्नुपर्नेमा जोड दिए। नेपाली उपभोक्ताको आवश्यकता र रुचिअनुसारका उत्पादन विकास गर्नुका साथै स्थानीय वितरक तथा खुद्रा व्यवसायीसँगको सहकार्यलाई अझ गहिरो बनाउन उनले सुझाव दिए।
नेपालमा वाल्टनको बजार विस्तारले नेपाल–बंगलादेशबीचको द्विपक्षीय व्यापार र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन योगदान पुग्ने विश्वाससमेत उनले व्यक्त गरे।
राजदूत रहमानले यसअघि वाल्टनको औद्योगिक प्रतिष्ठानको भ्रमण गर्दा कम्पनीले उत्पादनमा उत्कृष्टता, नवप्रवर्तन र गुणस्तरीय वस्तु उत्पादनमा दिएको प्राथमिकताबाट आफू प्रभावित भएको बताए। वाल्टनको अन्तर्राष्ट्रिय विस्तारले बंगलादेशको इलेक्ट्रोनिक्स उद्योगलाई विश्व बजारमा थप पहिचान दिलाउन सहयोग गरिरहेको र निर्यातको दायरा फराकिलो बनाउन योगदान पुगेको उनको भनाइ थियो।
नेपालमा वाल्टनको व्यापार तथा बजार विस्तारका लागि आवश्यक सहजीकरण गर्न बंगलादेशी दूतावास तयार रहेको पनि उनले बताए। ग्लोबल डिस्ट्रीब्युटर्स मिटका लागि काठमाडौं छनोट गरेकोमा वाल्टन व्यवस्थापनलाई धन्यवाद दिँदै उनले नेपाल बंगलादेशी पर्यटक तथा व्यवसायीका लागि खुला र स्वागतयोग्य गन्तव्य रहेको बताए। नेपाल–बंगलादेश सम्बन्ध जनस्तरको लामो सम्पर्कमा आधारित रहेको र यो सम्बन्ध थप सुदृढ हुँदै गएको उनको भनाइ थियो।
वाल्टनले आफ्ना उत्कृष्ट बिक्री प्रतिनिधिको योगदानको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल डिस्ट्रीब्युटर्स मिट आयोजना गरेको हो। उत्कृष्ट प्रदर्शन गर्ने बिक्री प्रतिनिधिलाई पुरस्कारस्वरूप नेपाल भ्रमण गराइएको कार्यक्रममा नेपाल र बंगलादेशका करिब ३०० बिक्री प्रतिनिधिको सहभागिता थियो।
कार्यक्रममा वाल्टन प्लाजा, नेपाल भ्रमणसम्बन्धी भिडियो प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा कम्पनीका वरिष्ठ अधिकारीहरूको सम्बोधन गरिएको थियो। कार्यक्रममा वाल्टन हाइ-टेक इन्डस्ट्रिज पीएलसीका प्रबन्ध निर्देशक एसएम महबुब आलम, वाल्टन प्लाजाका प्रबन्ध निर्देशक मोहम्मद रेहान तथा वाल्टन हाइ-टेक इन्डस्ट्रिज पीएलसीका उपप्रबन्ध निर्देशक मोफिजुर रहमान जाकिरले सम्बोधन गरेका थिए।



























