पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब साढे तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई)को फ्लाई दुबईले बुधबारदेखि पोखरा–दुबई दैनिक प्रत्यक्ष उडान सुरु गर्ने तयारी गरेको हो।
फ्लाई दुबईले दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–३ बाट पोखराका लागि दैनिक सेवा सञ्चालन गर्ने जनाएको छ। प्रकाशित उडान तालिकाअनुसार दुबईबाट आउने विमान साँझ ६ः१५ बजे पोखरा आइपुग्नेछ भने पोखराबाट साँझ ७ः१५ बजे दुबईका लागि उड्नेछ।
फ्लाई दुबईले यो सेवा एमिरेट्ससँगको कोड सेयरअन्तर्गत सञ्चालन गर्ने जनाएको छ। यसबाट दुबई हुँदै पश्चिम एसिया, युरोप, अफ्रिकालगायतका विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा पोखराबाट हवाई पहुँच विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित अन्तर्राष्ट्रिय उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नुका साथै पर्यटन, व्यापार, रोजगारी र आर्थिक गतिविधिमा समेत प्रभाव पार्ने बताए।
दुबईलाई ट्रान्जिट हबका रूपमा उपयोग गर्न सके पोखराबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसम्मको पहुँच विस्तार गर्न सकिने उनको भनाइ छ। यसअघि चीन, भारत र भुटानबाट पोखरामा चार्टर तथा विशेष उडान भए पनि ती नियमित हुन नसकेको उल्लेख गर्दै आचार्यले फ्लाई दुबईको सेवा दीर्घकालीन रूपमा सञ्चालन हुनु महत्वपूर्ण रहेको बताए।
पोखरा महानगरले उडान सुरु गराउन र प्रवर्द्धनका लागि सुरुआती चरणदेखि नै सहजीकरण गर्दै आएको जनाएको छ। अब उडान सुरु भएपछि यात्रु संख्या बढाउँदै सेवालाई नियमित र दीर्घकालीन बनाउनु मुख्य विषय रहेको महानगरको भनाइ छ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा–दुबई उडानलाई पोखरामा अन्तर्राष्ट्रिय उडानको वातावरण निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्न निजी क्षेत्रले यात्रु आकर्षित गर्ने अभियान अघि बढाएको बताए।
उनका अनुसार उडान सुरु हुने दिन पोखरा विमानस्थलमा आउने तथा जाने यात्रुलाई विशेष स्वागत तथा बिदाइ गरिनेछ। यात्रुका लागि उपहार, छुट कुपन, सूचना डेस्क र निःशुल्क पिकअपलगायतका सुविधा उपलब्ध गराउने तयारीसमेत गरिएको छ। पोखराका होटल तथा पर्यटन व्यवसायीले यात्रुलाई लक्षित गरी विभिन्न छुट तथा पर्यटन प्याकेजसमेत तयार गरिरहेका छन्।
‘पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुनु ऐतिहासिक अवसर हो। अब यसलाई सफल बनाउन पोखराका व्यवसायी र सरोकारवालाले अपनत्व लिएर यात्रु बढाउने वातावरण बनाउनुपर्छ,’ पोखरेलले भने।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले प्रत्यक्ष हवाई सम्पर्कले विदेशी पर्यटकका लागि पोखरा पुग्ने यात्रा सहज बनाउनुका साथै विदेशमा रहेका नेपालीलाई समेत काठमाडौं हुँदै पोखरा पुग्नुपर्ने अतिरिक्त समय र खर्च घटाउन सहयोग गर्ने बताए।
दुबई, युरोप र अमेरिकालगायतका मुलुकमा रहेका नेपालीले नेपाल आएपछि काठमाडौं हुँदै पोखरा पुग्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रत्यक्ष उडान उपयोगी हुने उनको भनाइ छ। भिसा, श्रम स्वीकृति, स्वास्थ्य परीक्षण, कार्गोलगायत यात्रुसम्बन्धी सेवा पोखरामै सहज रूपमा उपलब्ध गराउन सके उडानको उपयोगिता थप बढ्ने उनले बताए।
नाट्टा गण्डकीकी अध्यक्ष सङ्गीता पौडेलले निजी क्षेत्रले पोखरा–दुबई उडानलाई पर्यटन प्रवर्द्धन अभियानका रूपमा अघि बढाएको बताइन्। गण्डकीका ११ वटै जिल्लामा उडानको जानकारी पुर्याउने तथा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिइन्।
‘पोखराबाट उडौँ, पोखरामा ल्याऔँ, पोखरा र गण्डकी प्रदेशको पर्यटनलाई सहयोग गरौँ’ भन्ने सन्देशसहित जिल्ला तहमा प्रवर्द्धनात्मक कार्यक्रम अघि बढाइने उनले बताइन्। उडानको निरन्तरताका लागि आवश्यक परे दुबईमै समेत प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको पौडेलले बताइन्।
पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले अन्तर्राष्ट्रिय हवाई सम्पर्कलाई पर्यटनसँगै व्यापार, रोजगारी, लगानी र अन्य आर्थिक गतिविधि विस्तारको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताइन्।
पर्यटन व्यवसायी तथा पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा–दुबई उडानबाट विदेशी पर्यटक भित्र्याउनुका साथै गण्डकीमा उत्पादित कृषि तथा स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने सम्भावना बढ्ने बताए।
उनका अनुसार प्रत्यक्ष हवाई सम्पर्कलाई पर्यटनमा मात्र सीमित नराखी कृषि, स्थानीय उत्पादन र व्यापारसँग जोड्न सके यसको लाभ किसान, उत्पादक र व्यवसायीसम्म पुर्याउन सकिन्छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि चीन, भारतलगायतका गन्तव्यमा चार्टर तथा विशेष उडान भएका थिए। तर नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको निरन्तरता हुन सकेको थिएन। त्यसैले फ्लाई दुबईको दैनिक सेवाले पोखरालाई दुबईसँग प्रत्यक्ष जोड्नुका साथै नियमित अन्तर्राष्ट्रिय उडानका लागि बजार विस्तार गर्ने अवसर सिर्जना गर्ने अपेक्षा छ।



























