काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा सहभागिता र प्रतिनिधित्वको विषय चर्चामा रहेका बेला काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट युवा महाधिवेशन प्रतिनिधिमा राजेश मैनालीले उम्मेदवारी घोषणा गरेका छन्। उनले संगठन सुदृढीकरण, युवा सहभागिता वृद्धि र जिम्मेवार नेतृत्व निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
मैनालीले युवा पुस्ताको सक्रिय सहभागिताबिना राजनीतिक संगठनलाई समयानुकूल र प्रभावकारी बनाउन कठिन हुने भन्दै युवालाई पार्टीको नीति निर्माण र नेतृत्व तहमा अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्ने बताएका छन्। उनले आफ्नो राजनीतिक यात्रालाई युवा सहभागिता, संगठन निर्माण तथा जनताका मुद्दाको प्रतिनिधित्वसँग जोडेर अघि बढाउने बताएका हुन्।

कांग्रेसको १५औँ महाधिवेशनका लागि संशोधित विधानले वडादेखि केन्द्रीय तहसम्म युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ। यही परिवेशमा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका मैनालीले युवाको राजनीतिक सहभागिता केवल प्रतिनिधित्वमा सीमित नभई रोजगारी, उद्यमशीलता, शिक्षा, प्रविधि, भ्रष्टाचार नियन्त्रण, स्थानीय विकास तथा अवसर सिर्जनाजस्ता विषयसँग जोडिनुपर्ने धारणा राखेका छन्।
‘राष्ट्र निर्माणको अभियानमा युवाको सक्रिय सहभागिता आवश्यक छ। राजनीति केवल सत्ता प्राप्तिको माध्यम नभई जनताको सेवा, विकास र समृद्धिका लागि हुनुपर्छ,’ मैनालीले भनेका छन्, ‘युवाको सीप, क्षमता र ऊर्जालाई राजनीतिक नेतृत्वसँग जोड्न सके देशमै अवसर र भविष्य निर्माण गर्न सकिन्छ।’
मैनालीले नेपाली कांग्रेसको क्रियाशील सदस्यका रूपमा पार्टी गतिविधिमा सहभागी हुँदै आएको तथा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरेको बताएका छन्। उनले कांग्रेसको १४औँ महाधिवेशनमा वडा सदस्यको जिम्मेवारी सम्हालेको तथा विभिन्न संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन्।
उनले युवालाई देशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्ने नीति, शिक्षा तथा प्रविधिमा लगानी र स्थानीयस्तरमा आर्थिक गतिविधि विस्तारलाई राजनीतिक एजेन्डाका रूपमा अघि बढाउनुपर्ने उनको धारणा छ।
मैनालीले संगठनभित्र स्वच्छ, पारदर्शी र जिम्मेवार राजनीतिक संस्कार विकास गर्नुपर्नेमा पनि जोड दिएका छन्। युवा पुस्ताले राजनीतिलाई केवल निर्वाचन र पद प्राप्तिको विषयका रूपमा नभई सामाजिक रूपान्तरण र सार्वजनिक सेवाको माध्यमका रूपमा लिन आवश्यक छ, उनले भने ।
कांग्रेसले १५औँ महाधिवेशनका लागि असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने कार्यतालिका छ।
मैनालीले आफू निर्वाचित भए संगठनलाई थप गतिशील बनाउने, युवाको सहभागिता बढाउने, व्यवसायी तथा श्रमिकका जायज मुद्दालाई पार्टीभित्र उठाउने र जिम्मेवार तथा पारदर्शी नेतृत्व निर्माणमा भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। उनले काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ का प्रतिनिधिहरूसँग आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आग्रहसमेत गरेका छन्।





























