काठमाडौं । विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाली टोलीले युरोपका विभिन्न मुलुकमा पुगेर नेपालको प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार गर्दै विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि निम्तो दिएको छ।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालका अनुसार नेपाल–ग्रीस मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष मनोज नेवा खड्गीको नेतृत्वमा नेपाली टोलीले ग्रीस, फ्रान्स, बेल्जियम, जर्मनी, इटाली, स्विट्जरल्यान्ड र अस्ट्रियामा पुगेर नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधि गरेको हो। टोलीले ती मुलुकमा नेपालका पर्यटकीय गन्तव्य, विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा, धार्मिक तथा ऐतिहासिक स्थल र प्राकृतिक सौन्दर्यबारे जानकारी गराउँदै नेपाल भ्रमणका लागि आह्वान गरेको बरालले बताए।
बरालका अनुसार टोलीले नेपालको पर्यटनलाई युरोपेली बजारमा थप परिचित गराउने उद्देश्यले स्थानीय समुदाय, पर्यटनसँग सम्बन्धित व्यक्ति तथा नेपाली समुदायसँग भेटघाट गर्दै नेपालको पर्यटन सम्भावनाबारे जानकारी आदानप्रदान गरेको थियो। नेपालको हिमाल, पहाड, प्राकृतिक सौन्दर्य, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा, धार्मिक स्थल, मौलिक कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवर्द्धन गर्न अभियान केन्द्रित रहेको उनले जानकारी दिए।
‘नेपाल प्राकृतिक र सांस्कृतिक विविधताले सम्पन्न मुलुक हो। हिमालदेखि पहाड र तराईसम्मका फरक भूगोल, धार्मिक तथा ऐतिहासिक सम्पदा र मौलिक संस्कृतिलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा अझ प्रभावकारी रूपमा पुर्याउन आवश्यक छ,’ बरालले भने, ‘युरोपका विभिन्न मुलुकमा गरिएको यो अभियानमार्फत नेपाल भ्रमणका लागि प्रत्यक्ष निम्तो दिनुका साथै नेपालको पर्यटनबारे जानकारी गराउने काम भएको छ।’
उनका अनुसार नेपालमा हिमाल आरोहण, पदयात्रा, साहसिक पर्यटन, धार्मिक तथा आध्यात्मिक पर्यटन, सांस्कृतिक पर्यटन, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा अवलोकनलगायत विविध पर्यटकीय गतिविधिको सम्भावना छ। यी पक्षलाई लक्षित बजारमा प्रभावकारी रूपमा प्रचार गर्न सके विदेशी पर्यटकको आकर्षण बढाउन सकिने उनको भनाइ छ।
पर्यटन प्रवर्द्धन अभियानमा नेपालका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदासहित काठमाडौं उपत्यकाका ऐतिहासिक तथा धार्मिक स्थल, हिमाली क्षेत्र, प्राकृतिक सम्पदा र नेपाली कला–संस्कृतिबारे जानकारी दिइएको बरालले बताए। विदेशी नागरिकलाई नेपाल आएर यहाँको प्राकृतिक तथा सांस्कृतिक विविधताको प्रत्यक्ष अनुभव गर्नसमेत टोलीले आग्रह गरेको उनले जानकारी दिए।
टोलीमा बागमती विश्वविद्यालयका डिन डा. शिवराज अधिकारी, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, काठमाडौं महानगरपालिका–१८ का वडाध्यक्ष तथा पूर्वाधार विकास संयोजक राजेशकुमार श्रेष्ठ, गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य उज्ज्वल कुमार घिसिङ, ग्रीस–नेपाल फ्रेन्डसिप एन्ड कल्चर एसोसिएसनका संस्थापक अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्स, ग्रीसका प्रतिनिधि कृष्ण पोखरेल, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल र वर्ल्ड साइकल टुर च्याम्पियन नेपालका अध्यक्ष कविकुमार महर्जनलगायत सहभागी छन् ।
बरालले पर्यटन प्रवर्द्धनलाई सरकारी प्रयासमा मात्र सीमित नराखी निजी क्षेत्र, पर्यटन व्यवसायी, नेपाली समुदाय तथा विदेशस्थित विभिन्न संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताए। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन बारे निरन्तर प्रचारप्रसार गर्न सके पर्यटनबाट रोजगारी, लगानी र विदेशी मुद्रा आर्जन बढाउनसमेत योगदान पुग्न सक्छ।
विश्व पर्यटन दिवस सेप्टेम्बर २७ मा मनाइँदै गर्दा गरिएको यो अभियानले नेपाललाई युरोपेली पर्यटन बजारमा थप चिनाउन र सम्भावित पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




























