काठमाडौं । चाडपर्वको अवसरमा नेपालमा रेमिट्यान्स कारोबारलाई लक्षित गर्दै वेस्टर्न युनियनले ‘यो दशैं म छु सँगै’ नामक आठ हप्ते अभियान घोषणा गरेको छ। क्रस–बोर्डर मुद्रा स्थानान्तरण तथा भुक्तानी सेवामा सक्रिय वेस्टर्न युनियनले दशैं, तिहार र छठलाई लक्षित गरी अभियान सञ्चालन गर्न लागेको हो।
कम्पनीले बिहीबार पत्रकार सम्मेलनमार्फत अभियानबारे जानकारी दिँदै अक्टोबर २ देखि नोभेम्बर २७, २०२६ अर्थात् असोज १६ देखि मंसिर ११ गतेसम्म अभियान सञ्चालन हुने जनाएको छ। अभियानअन्तर्गत वेस्टर्न युनियनमार्फत रकम पठाउने तथा नेपालमा नगद प्राप्त गर्ने ग्राहकलाई लक्की ड्रमा सहभागी गराइनेछ।
अभियान अवधिभर लक्की ड्रमार्फत सात जना विजेता छनोट गरिने र प्रत्येक विजेतालाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ। यस्तै, अभियानको आठौं हप्ताको अन्त्यमा एक जना भाग्यशाली विजेतालाई पाँच लाख रुपैयाँको ग्राण्ड बम्पर पुरस्कार प्रदान गरिनेछ।
लक्की ड्रमा सहभागी हुन ग्राहकले छुट्टै फारम भर्नुपर्ने वा कुनै अतिरिक्त प्रक्रिया पूरा गर्नुपर्ने छैन। अभियानका लागि योग्य कारोबार गरेपछि ग्राहक स्वतः लक्की ड्रमा सहभागी हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
तर अभियान वेस्टर्न युनियनमार्फत गरिएको नगद प्राप्त अर्थात् क्यास पिकअप कारोबारमा मात्र लागू हुने जनाइएको छ। अभियान नेपालभर वेस्टर्न युनियनका नेटवर्क तथा एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, नबिल बैंक र सूर्य रेमिटलगायत प्रमुख एजेन्टको सहकार्यमा सञ्चालन हुने कम्पनीले जनाएको छ।
पत्रकार सम्मेलनमा वेस्टर्न युनियनले नेपालमा पहिलो रेमिट्यान्स सेवा प्रदायकका रूपमा २९ वर्षभन्दा बढी समयदेखि सेवा दिँदै आएको जानकारी गराएको थियो। कम्पनीका अनुसार विश्वका २०० भन्दा बढी देश तथा क्षेत्रबाट नेपालमा रकम स्थानान्तरण गर्ने सेवा उपलब्ध छ।
चाडपर्वका बेला विदेशमा रहेका नेपालीले पठाएको रकमले परिवारसँगको सम्बन्ध र खुसीलाई जोड्ने भएकाले अभियानमार्फत रेमिट्यान्सलाई आर्थिक कारोबारभन्दा बाहिरको पारिवारिक सम्बन्धसँग जोडेर प्रस्तुत गर्न खोजिएको कम्पनीले जनाएको छ।
वेस्टर्न युनियनले सीमापार रहेका परिवारबीच जोड्ने पुलका रूपमा रेमिट्यान्सको भूमिकालाई उजागर गर्दै ‘यो दशैं म छु सँगै’ अभियानले विदेशमा रहेका नेपालीको आर्थिक सहयोगसँगै परिवारप्रतिको माया, साथ र साझा खुसीलाई समेत अभिव्यक्त गर्ने विश्वास लिएको जनाएको छ।




























