काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बागलुङको निसीखोला गाउँपालिकाका बाढी तथा पहिरो प्रभावित ६८ घरपरिवारलाई खाद्यान्नसहित आवश्यक राहत सामग्री हस्तान्तरण गरेको छ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार गोर्खाली र सोम सापकोटाको नेतृत्वमा गएको टोलीले निसीखोला गाउँपालिकाका प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको हो।
प्रत्येक प्रभावित परिवारलाई २५ किलो चामल, ५ किलो दाल, २ लिटर तेल, २ किलो नुन र आधा किलो मसला उपलब्ध गराइएको छ। त्यस्तै, एक थान कम्बल, प्लास्टिक बाल्टी, मग, साबुन, मञ्जन, ब्रस तथा १५ बाई १५ फिटको त्रिपाललगायतका आवश्यक सामग्रीसमेत वितरण गरिएको छ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा पूर्वमाननीय खेमविक्रम शाही, निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती, वडा नम्बर ३ का अध्यक्ष टिकानिधि पौडेल, वडा नम्बर ४ का अध्यक्ष रमेशविक्रम शाही, प्रशासनिक अधिकृत जीवनकुमार पुन, कार्यपालिका सदस्य नीता सापकोटा तथा जीवनकुमार विक, नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष योगेन्द्र परियारलगायत जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाको उपस्थिति थियो।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले विपद्को समयमा प्रभावित परिवारलाई राहत उपलब्ध गराएकोमा एनआरएनएलाई धन्यवाद व्यक्त गरे। उनले प्रभावित परिवारको आवश्यकता अझै रहेकाले आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग र सहकार्यलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरे।
बागलुङसँगै पर्वत र म्याग्दीका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा समेत एनआरएनएले राहत तथा मानवीय सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी, जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायसँग समन्वय गर्दै राहत तथा सहयोगका कार्यक्रम अघि बढाइएको संघले जनाएको छ।
एनआरएनएले आगामी दिनमा पनि प्रभावित क्षेत्रको आवश्यकता र अवस्थाका आधारमा राहत तथा सहयोगका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।





























