सुर्खेत । जाजरकोटका स्थानीय बासिन्दाले जडिबुटी संकलनबाट एक वर्षमै २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्। जिल्लाबाट ३७ प्रजातिका जडिबुटी निकासी हुँदै आएको र त्यसबाट ग्रामीण अर्थतन्त्र, रोजगारी तथा स्थानीयको जीविकोपार्जनमा उल्लेख्य योगदान पुगेको डिभिजन वन कार्यालयको तथ्यांकले देखाएको छ।
जिल्ला समन्वय समिति जाजरकोटले असोज १२ र १३ गते आयोजना गरेको सरकारी तथा गैरसरकारी कार्यालयको वार्षिक प्रगति समीक्षा गोष्ठीमा डिभिजन वन कार्यालयले प्रस्तुत गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा जडिबुटी संकलनबाट स्थानीय समुदायले २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन्।
डिभिजन वन अधिकृत दीपेश केसीका अनुसार गत आर्थिक वर्षमा जाजरकोटबाट टिमुर, रिठ्ठा, पदमचाल, पाषाणवेद, रातो च्याउ, झ्याउ, विषफेज र धुपीको पातलगायत ३७ प्रजातिका जडिबुटी निकासी भएका छन्। तीमध्ये टिमुर र झ्याउ स्थानीयका लागि प्रमुख आम्दानीका स्रोत बनेका छन्।
गत वर्ष निजी आवादी, सामुदायिक वन र सरकारी वन क्षेत्रबाट गरी १ लाख ९८ हजार ७ सय ५९ किलो टिमुर संकलन तथा निकासी भएको कार्यालयले जनाएको छ। यसमध्ये निजी आवादीबाट १ लाख ३ हजार ५ सय ५५ किलो, सामुदायिक वनबाट ५३ हजार १७ किलो र सरकारी वन क्षेत्रबाट ४२ हजार ६ सय ८७ किलो टिमुर संकलन भएको थियो।
संकलनस्थलमै टिमुर प्रतिकिलो ५ सय ५० देखि ६ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। औसत मूल्य ६ सय रुपैयाँलाई आधार मान्दा टिमुरबाट मात्रै स्थानीयले करिब १२ करोड रुपैयाँ आम्दानी गरेको कार्यालयको अनुमान छ। त्यस्तै झ्याउको संकलन तथा बिक्रीबाट तीन करोड रुपैयाँभन्दा बढी आम्दानी भएको जनाइएको छ।
वन क्षेत्र ग्रामीण अर्थतन्त्रको आधार
जाजरकोटको कुल भूभागमध्ये ६०.१८ प्रतिशत वन क्षेत्रले ओगटेको छ। वन, वन्यजन्तु, जडिबुटी तथा जैविक विविधताले धनी जिल्लामा जडिबुटी संकलन ग्रामीण समुदायको आयआर्जन र जीविकोपार्जनको महत्वपूर्ण माध्यम बन्दै गएको डिभिजन वन अधिकृत केसीले बताए।
उनका अनुसार जडिबुटीको व्यवस्थित संकलन, प्रशोधन तथा व्यावसायिक उत्पादन विस्तार गर्न सके स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै ग्रामीण अर्थतन्त्रमा यसको योगदान अझ बढाउन सकिन्छ।
जडिबुटीबाहेक वन क्षेत्रबाट प्राप्त राजस्व तथा सामुदायिक वनको आम्दानी पनि उल्लेख्य रहेको कार्यालयको विवरणमा छ। आर्थिक वर्ष २०८२/८३ मा डिभिजन वन कार्यालयले १ करोड ३ लाख ५८ हजार ३ सय ५४ रुपैयाँ राजस्व संकलन गरेको थियो। त्यस्तै ६८ लाख १६ हजार १ सय ६५ रुपैयाँ मूल्य अभिवृद्धि कर र सामुदायिक वनबाट २ करोड ६५ लाख ७० हजार ९ सय ३४ रुपैयाँ आम्दानी भएको जनाइएको छ।
प्राकृतिक स्रोतबाट करोडौं रुपैयाँको आम्दानी भइरहे पनि वन संरक्षणमा भने विभिन्न चुनौती छन्। वन डढेलो, अतिक्रमण, मानव–वन्यजन्तु द्वन्द्व तथा अवैध वन पैदावारको चोरी निकासीलाई कार्यालयले प्रमुख चुनौतीका रूपमा औंल्याएको छ।
कार्यालयको अभिलेखअनुसार जिल्लामा १ हजार २ सय २५ दशमलव ४५ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ। गत आर्थिक वर्षमा वन तथा वन्यजन्तु अपराधसम्बन्धी पाँचवटा मुद्दा अभियोजन भई फछ्र्योट भएका छन्।
सोही अवधिमा जिल्लाका ३८ सामुदायिक वनमा ५५ पटक डढेलो लागेको थियो। सुरक्षा निकाय, वन उपभोक्ता, स्थानीय तह र समुदायको सहभागितामा डढेलो नियन्त्रण गरिएको कार्यालयले जनाएको छ।
जाजरकोटमा बाँदर, भालु, जंगली बँदेल र चितुवाबाट बालीनाली, पशुधन तथा मानवीय क्षति हुने गरेको छ। वन्यजन्तुबाट पीडित परिवारलाई गत आर्थिक वर्षमा ३ लाख ६० हजार रुपैयाँ राहत वितरण गरिएको केसीले जानकारी दिए।
४० हेक्टरमा जडिबुटी र बहुउपयोगी बिरुवा
जडिबुटी उत्पादन विस्तारसँगै वन क्षेत्र संरक्षणका लागि डिभिजन वन कार्यालयले वृक्षारोपण तथा बिरुवा उत्पादन कार्यक्रमलाई पनि अघि बढाएको छ। जडिबुटी विकास कार्यक्रमअन्तर्गत निजी आवादी, सामुदायिक वन, कबुलियती वन तथा सार्वजनिक जग्गाको करिब ४० हेक्टर क्षेत्रमा टिमुर, रिठ्ठा, सिसौ, खयर, बोधिचित्त, तेजपात, ओखर, चिउरी र बोझोलगायत करिब ५५ हजार बिरुवा रोपिएको कार्यालयले जनाएको छ।
सामुदायिक वन उपभोक्ता समूह, कबुलियती वन उपभोक्ता समूह तथा निजी जग्गाधनीमार्फत बिरुवा रोपिएको हो। त्यस्तै डिभिजन वन कार्यालय परिसरमा रहेको बहुवर्षीय नर्सरीमा करिब ५० हजार एकवर्षीय तथा बहुवर्षीय बिरुवा उत्पादन गरिएको र तीमध्ये करिब ११ हजार बिरुवा वितरण गरिएको छ।
जडिबुटीको व्यावसायिक उत्पादन, दिगो संकलन र वन संरक्षणलाई सँगसँगै अघि बढाउन सके जाजरकोटको प्राकृतिक स्रोत स्थानीयको आयआर्जन, रोजगारी र ग्रामीण समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने देखिन्छ।




























