काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकाका बाढी तथा पहिरो प्रभावित परिवारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले करिब ५ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा आवश्यक राहत सामग्री उपलब्ध गराएको छ ।
ताराखोला गाउँपालिकाको सडक सञ्जाल अझै अवरुद्ध रहेकाले प्रभावित बस्तीमा प्रत्यक्ष रूपमा राहत सामग्री पुर्याउन कठिनाइ भइरहेको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको अनुरोधमा एनआरएनएले राहत सामग्री प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको हो ।
एनआरएनएका प्रवक्ता सोम नाथ सापकोटाले जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई राहत सामग्री हस्तान्तरण गरे । राहत सामग्रीमा चामल, दाल, तेल, चिउरा, सोयाबिन, आलु, चाउचाउ, चिनी, चियालगायत खाद्यान्न छन् । प्रभावित परिवारका लागि सिरक, डसना र सिरानीसमेत उपलब्ध गराइएको छ ।
त्यस्तै, विपद्का बेला सञ्चार तथा प्रकाशको आवश्यकतालाई ध्यानमा राख्दै ३० थान पावर बैंक र ३० थान इमर्जेन्सी लाइट पनि जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिएको एनआरएनएले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी आचार्यले विपद्को समयमा प्रभावित परिवारका लागि राहत सामग्री उपलब्ध गराएकोमा एनआरएनएलाई धन्यवाद दिए । सडक पहुँच पुनःस्थापित भएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा राहत सामग्री प्रभावित परिवारसम्म पुर्याइने उनले बताए ।
एनआरएनएका प्रवक्ता सापकोटाले विपद्को कठिन परिस्थितिमा आवश्यकतामा रहेका नागरिकसम्म सहयोग पुर्याउन पाउँदा संघ खुसी रहेको बताए । प्रभावित नागरिकको दुःखमा हातेमालो गर्दै राहत तथा मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।
राहत हस्तान्तरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका अधिकारीसँगै सिन्धुलीका सांसद आशिष गजुरेल र बागलुङका सांसद सोम शर्मा लगायतको उपस्थिति थियो ।
एनआरएनएले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा अन्य सरोकारवालासँगको समन्वयमा बाढीपहिरो प्रभावित नागरिकका लागि राहत तथा मानवीय सहयोग अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।




























