काठमाडौँ : चीनका राष्ट्रपति सी चिनफिङले नेपाल–भारतबीचको सीमा विवादमा चीनले कुनै भूमिका नखोज्ने स्पष्ट पारेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा राष्ट्रपति सीले दुई पक्षले आपसी संवाद र सहमतिमार्फत् समाधान निकाल्नुपर्ने बताएका हुन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले भारत–चीनबीच लिपुलेक मार्ग हुँदै सीमा व्यापारका लागि भएको समझदारीबारे कुरा उठाएका थिए।
ओलीले लिपुलेक क्षेत्र नेपालको भूभागमा पर्न आउने भन्दै चीनसमक्ष नेपाल सरकारको आपत्ति प्रस्ट्याएका थिए। जवाफमा राष्ट्रपति सीले लिपुलेक मार्ग परम्परागत नाका भएको जनाउँदै नेपाल-भारतबीचको सीमा विवादमा चीनले पक्षधरता नलिने बताए। तर उनले लिपुलेकमा नेपालको दाबीमा कुनै कमी हुन नदिइने आश्वासन दिएको सचिव राईले उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले हालै भारत र चीनका विदेशमन्त्रीस्तरीय बैठकबाट गरिएको लिपुलेकबाट व्यापार सम्झौताबारे चीनका राष्ट्रपतिसँग असन्तुष्टि व्यक्त गरेका थिए । वार्तामा सहभागी एक नेपाली प्रतिनिधिका अनुसार प्रधानमन्त्रीले ऐतिहासिक दस्तावेजहरु र हाम्रा सन्धि सम्झौताले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भएको राष्ट्रपतिलाई स्मरण गराएका छन् । उनले देश भूगोल र जनसंख्याले सानो ठूलो भए पनि सार्वभौमिकताको हिसाबले सबै समान हुने बताए ।



























