काठमाडौं । कोरियाली भाषा परीक्षा (ईपीएस)मा सहभागी हुन माग गर्दा नेपाली युवाहरुले ज्यान गुमाएका छन् । ललितपुरको बालकुमारीमा कोरिया भाषा परिक्षामा सहभागी गराउनु पर्ने मागसहित प्रदर्शनकारीले उग्ररूप लिँदा प्रहरीले बल प्रयोग गरेपछि युवाको ज्यान गएको हो। प्रदर्शन गरिरहेका युवाहरू र प्रहरीबीच झडप हुँदा होनाहार दुई युवा जसले ज्यान गुमाए । ज्यान गुमाउने सुजन राउत र वीरेन्द्र शाह थिए। उनीहरु लगभग एकै उमेरका थिए।
नेपाली जनताले राजतन्त्रको विदाई गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याए, संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएपछि नेपाली जनताको रोजीरोटी ग्यारेन्टी हुन्छ भन्ने विश्वास गरेका थिए । लोकतन्त्र आयो, गणतन्त्र आयो तर, खै कस्को लागी आयो ? कहाँ आयो ? विदेश जान पाउँ भन्दा गोली खान पर्छ, विदेश जानको लागि फाराम भर्न देउ भन्दा गोली खान छाती थाप्नु पर्ने कस्तो अवस्था आयो ? संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएपछि शिक्षा, स्वास्थ्य र रोजगारीको पक्का हुने अपेक्षा गरेका थिए, तर आज शिक्षा स्वास्थ्य र रोजगारीको अभावमा नेपाली जनताहरुले गोली खान पर्ने अवस्था आएको छ ।
देशको व्यवस्था फेरिए सँगै जनताको अवस्थामा आमूल परिर्वतन हुनेमा नेपाली जनताले कुनै संका गरेका थिएनन् । गणतन्त्र देशमा आउँदा सबै भन्दा बढी खुशी युवाहरुनै थिए, तर आज असुरक्षित भविष्य र पीडाले थिलथिलो भएका कयौं युवाहरु निराश भएर देश छोड्न बाध्य हुन्छन् । नेपालमा बसेर राम्रो कमाइ गर्न नसकिने भएपछि युवाहरुले विदेश जाने योजना बनाउँछन् । देशमा बस्ने वातावरणनै नभएपछि कसरी बस्छन् र ? ‘अब देशमा बसौं भने भविष्य अन्योल छ। वैदेशिक रोजगारीमा कोरिया लगायत राम्रो देश जान सकियो भने राम्रो पैसा कमाउन सकिन्छ, देशमा त रोजगारी पाइहाले पनि कमाइ नै हुँदैन, पैसा नभए त केही गर्न सकिँदैन’ भन्दै युवाहरु आक्रोश पोख्छन् ।
हिजोको शुक्रबार बालकुमारीको घटनामा दुई घरपरिवार जसले रोजीरोटीको सहारा गुमाए । वैदेशिक रोजगरीमा कोरिया गएर आफ्नो परिवारको आर्थिक हैसियत बलियो बनाउने दैलेख र अछामका दुई युवाको सपना तुह्यो । आफ्ना गाउँका आशा भरोसा गरिएका युवा काठमाडौंमा मारिएपछि दैलेख र अछामका स्थानीय बासिन्दामा त्यसको पीडा र आक्रोशलाई अनुभव गर्न सकिन्थ्यो। वैदेशिक रोजगरीमा कोरिया गएर आफ्नो परिवारको आर्थिक हैसियत बलियो बनाउने सपना देखेका दैलेख र अछामका युवामा भएको हिंसात्मक गतिविधिे जिम्मेवार राज्य हुनपर्छ । दक्षिण कोरिया जाने आकाङ्क्षीहरूले राज्यबाटै गोली खानु र मृत्यु हुनुले अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश भने पक्कै गएको छैन् । प्रहरीको गोली लागेर विश्व बजारमा श्रम बेच्न लालायित युवाको मृत्यु प्रकरण निष्पक्ष छानबिन होस्, ज्यान गुमाउने सुजन राउत र वीरेन्द्र शाहप्रति हार्दिक श्रदाञ्जली !



























