काठमाडौं । बेरोजगारीको बढ्दो मारले युवाहरु आक्रन्त बनेका कारण मन्त्रीको गाडीमा आगजानी भएको दृश्य देख्न र मन्त्रीले भोग्न पर्यो । वैदेशिक रोजगारका लागि प्रत्येक घरका एक वा दुई जना विदेश जान बाध्य हुनुको प्रमुख कारण अस्थिर राजनीतिनै हो ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरुले ईपीएस कोरिया शाखाले लिने परीक्षामा सामेल हुन नपाउँदा ललितपुरको बालकुमारीमा युवाहरुले मन्त्रीको गाडी जलाएर आक्रोश पोखे । शाखाले सिप बिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि त्यसको बदलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला परे ।
विश्व बजारमा श्रम बेच्न लालायित भएका युवाहरुले मन्त्रीको सरकारी गाडीमा आगो मात्रै लगाएनन् सडक अबरुद्ध गरेर बालकुमारी क्षेत्र तनावग्रस्त बनाएपछि प्रहरीले हवाइ फायर समेत गर्न पुग्यो । विश्व बजारमा श्रम बेच्न लालायित युवाहरु प्रहरीले चलाएको गोली खान छाती थाप्न तयार भए र, दुई जनाले ज्यान समेत गुमाएका छन् । सुजन राउत र वीरेन्द्र शाहले ज्यान गुमाए । देशमा रोजगारीको वातावरण सिर्जना भएको भए आज उनीहरुले ज्यान गुमाउन पर्ने थिएन् ।
नेपालको बढ्दो वेरोजगारी एका तर्फ, अर्को तर्फ देशमा देखिएको आर्थिक संकट, राजनीतिक अस्थिर, देशका क्षमतावान युवालाई देश निर्माणमा जोड्न नसक्नु आजको राजनीतिक नेतृत्वमा देखिएको असफलताको कारणले सुजन राउत र विरेन्द्र शाहको कोरिया गएर परिवारलाई सुखमा राख्ने सपना टुट्यो । बालकुमारीमा मन्त्री ज्वालाको सरकारी गाडीमा आगो लाग्नुले देशको बागडोर समालेका नेतृत्वमाथि प्रश्न चिन्ह्र उठेको स्पष्टै छ । युवाहरु विश्व बजारमा श्रम बेच्न बाध्य हुदाँ र गोली खान छाती थाप्दा देशको बागडोर समालेकाहरुलाई लाजले पनि लजाउने गरी नाङ्गीएको युवापुस्ताले महशुस गरेका छन् ।


























