मकवानपुर, नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी मकवानपुरको स्वास्थ्य विभागले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५२ जनाले रक्तदान गरेका छन्।
राष्ट्रिय युवा संघ नेपाल, केन्द्रीय कमिटीले सञ्चालन गरिरहेको देशव्यापी रक्तदान महाअभियानअन्तर्गत मकवानपुरमा पनि यो खुला रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका संयोजक राजेश नगरकोटीका अनुसार यस महाअभियानले देशव्यापी रूपमा रगतको अभाव कम गर्न सहयोग पुर्याउने लक्ष्य राखेको छ।
संघका जिल्ला अध्यक्ष राजेश नगरकोटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तथा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद माननीय महेश कुमार बर्तौला, एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेललगायत युवा संघ र पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताहरूको उपस्थिति थियो।
यस कार्यक्रममा एमालेका विभिन्न जनवर्गीय संगठनका नेता, कार्यकर्ता, रक्तदानसँग सम्बन्धित सामाजिक संघसंस्थाका प्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूको पनि सहभागिता रहेको थियो।



























