काठमाडौं । मलेसियाको विदेशी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस) मा सीमित म्यानपावर कम्पनीको संलग्नताबारे सरकारले छानबिन थालेको छ। वैदेशिक रोजगार विभागले प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत २५ म्यानपावर कम्पनीलाई आबद्धता अन्त्य गर्न निर्देशन दिँदै उनीहरूको छनोट, कारोबार र प्रणालीमा आबद्धताको आधारबारे अनुसन्धान अघि बढाएको हो।
एफडब्लुसिएमएसमा सहयोगी संस्थाका रूपमा सूचीकृत भनिएका थप २५० म्यानपावर कम्पनीको मलेसियासम्बन्धी नयाँ पूर्वस्वीकृति प्रक्रिया पनि छानबिन पूरा नहुँदासम्म रोकिएको छ। विभागले ती कम्पनीसँग प्रणालीमा आबद्धताको आधार, मुख्य संस्थासँगको सम्बन्ध र अपनाइएको प्रक्रियाबारे स्पष्टीकरण माग्ने जनाएको छ।
मलेसियाले यसअघि नेपालका २५ म्यानपावर कम्पनीमार्फत मात्रै नेपाली श्रमिक लैजाने व्यवस्था अघि सारेपछि व्यवसायीहरूले त्यसलाई सिन्डिकेटको प्रयास भन्दै विरोध गर्दै आएका थिए। नेपालमा एक हजारभन्दा बढी म्यानपावर कम्पनी सञ्चालनमा रहेकाले सबैलाई समान रूपमा श्रमिक पठाउने अवसर दिनुपर्ने व्यवसायीहरूको माग छ।
सरकारले भने छानबिनबाट गैरकानुनी आर्थिक कारोबार, प्रतिस्पर्धा सीमित गर्ने गतिविधि वा कानुनविपरीतको संलग्नता पुष्टि भएमा कानुनअनुसार कारबाही गर्ने जनाएको छ। यसअघि नै श्रम स्वीकृति लिइसकेका श्रमिकको वैदेशिक रोजगारीमा जाने प्रक्रियामा भने रोक नलाग्ने विभागले स्पष्ट पारेको छ।



























