काठमाडौं : बीमा व्यवसायलाई अवैध वित्तीय क्रियाकलापको माध्यम बन्न नदिन नेपाल बीमा प्राधिकरणले नयाँ निर्देशन जारी गरेको छ। ‘सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८२’ नाम दिइएको यो व्यवस्था भदौ ४ गते प्राधिकरणको सञ्चालक समितिबाट स्वीकृत भएको हो।
निर्देशनले बीमा कम्पनीका सीईओदेखि कर्मचारी, बीमा मध्यस्थकर्ता र तेस्रो पक्ष सहजकर्तासम्मलाई ग्राहक पहिचानदेखि शंकास्पद कारोबार प्रतिवेदन बुझाउने दायित्व तोकेको छ। अब ग्राहकको विवरण अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा नागरिकता प्रमाणपत्रको विद्युतीय विवरणमार्फत सुनिश्चित गर्नुपर्नेछ।
शंकास्पद कारोबार तत्काल वित्तीय जानकारी इकाईमा पठाउनुपर्ने, बीमाशुल्क र दाबी भुक्तानी अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने र अत्यावश्यक अवस्थामा मात्र नगद प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ। बीमा कम्पनीमा (एएमएल÷सिएफटी) विभाग स्थापना, अनुपालन अधिकृत तोक्ने र वार्षिक जोखिम प्रतिवेदन पेश गर्ने प्रावधान पनि राखिएको छ।




























