जनकपुरधाम , मधेश प्रदेश सरकारले प्रदेशमा लगानी भित्र्याउनका लागि लगानी सम्मेलनको तयारी सुरु गरेको छ। यसै सन्दर्भमा बिहीबार जनकपुरधाममा मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा, नीति आयोगका सदस्य राजकुमार सिंह र मुख्यमन्त्रीका आर्थिक सल्लाहकार अशोक बैद्यसहितको टोलीबीच विशेष छलफल भएको छ।
लगानी सम्मेलनको मुख्य उद्देश्य प्रदेशका धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र प्राकृतिक स्रोतहरूको परिचय गराउनु हो। साथै, स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्दै प्रदेशको विकासमा उनीहरूको सहभागिता सुनिश्चित गर्नु, रोजगारीका अवसरहरू सिर्जना गर्नु, र मधेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीको केन्द्र बनाउनु रहेको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार अशोक बैद्यले बताए।
सम्मेलनमा कृषि, उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य र शिक्षाजस्ता प्रमुख क्षेत्रमा लगानीका अवसरहरू प्रस्तुत गरिनेछ। यसबाट प्रदेशमा रोजगारी सिर्जना हुने, धार्मिक(सांस्कृतिक सम्पदाको संरक्षण तथा पर्यटन प्रवर्द्धन हुने, कृषि तथा उद्योगमा उत्पादकत्व बढ्ने र आर्थिक आत्मनिर्भरता मजबुत हुने अपेक्षा गरिएको छ।
प्रदेश सरकार, निजी क्षेत्र, संघीय सरकार र अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सहकार्यमा यस कार्यक्रमलाई सफल बनाउने तयारी भइरहेको छ। यो सम्मेलन मधेश प्रदेशको दिगो आर्थिक विकास, सामाजिक समृद्धि र सांस्कृतिक संरक्षणका लागि महत्त्वपूर्ण अवसर हुने प्रदेश सरकारले जनाएको छ।



























