काठमाडौं : नेपालमा झैँ युरोप, मध्यपूर्व, अमेरिका लगायतका मुलुकमा रहेका नेपाली महिलाहरूले पनि हरितालिका तीजलाई विशेष उत्सवका रूपमा मनाइरहेका छन् । नेपालमा तीज घर–आँगन, मठ–मन्दिर र संयुक्त परिवारमा केन्द्रित हुन्छ भने परदेशमा तीज प्रायः आपसमा भेटघाट, सानो जमघट र सामाजिक सञ्जालमार्फत बाँडफाँड हुने गरेको देखिन्छ । तर परदेशमा महिलाहरुले तीजलाई विशेष पर्वको रुपमा मनाइरहेको देख्न सकिन्छ । यसले नेपाली रैथाने संस्कृतिलाई अझै चलायमान बनाएको छ ।
युरोपमा सामुदायिक तीज
लन्डन, पेरिस, बर्लिन जस्ता शहरमा रहेका नेपाली समुदायले सामूहिक रूपमा सांस्कृतिक कार्यक्रम आयोजना गर्छन् । नेपाली संघ–संस्थाले हल भाडामा लिएर नाचगान, कविता, नाटक र भजनमार्फत तीज मनाउने परम्परा बसेको छ । यसले परदेशमा बस्ने महिलालाई आत्मीयता दिने मात्र होइन, दोस्रो पुस्ताका बालबालिकामा पनि नेपाली संस्कृति हस्तान्तरण गर्ने माध्यम बनेको छ ।
मध्यपूर्वमा कार्यस्थलकै बीचमा तीज
कतार, साउदी अरब, युएई वा कुवेतमा काम गर्ने धेरै महिला श्रमिकका लागि तीज विशेष दिन भए पनि मनाउने तरिका फरक हुन्छ । कार्यदबाब र श्रम नियमका कारण उनीहरूले छुट्टी पाउनु दुर्लभ छ । धेरैजसोले ड्युटी सकेपछि होस्टेल वा श्रमिक आवासमै साथीभाइसँग गीत–संगीत सुनेर, सामाजिक सञ्जालमा लाइभ गरेर वा नेपालस्थित परिवारसँग भिडियो कल गरेर तीजको अनुभूति बाँडिरहेका छन्। कतिपय ठाउँमा नेपाली संघ–संस्थाले सानो समूहमा जमघट गरेर सामूहिक नाचगान र व्रत गर्ने वातावरण पनि बनाएका छन् ।
अमेरिकामा विविधताबीच तीज
न्युयोर्क, डल्लास, ह्युस्टन, वाशिङटन डीसी लगायत शहरमा रहेका नेपाली महिलाले तीजलाई बहुसांस्कृतिक परिवेशमै आत्मसात् गरेका छन् । उनीहरूले स्थानीय मन्दिर, सामुदायिक भवन वा संघ–संस्थाका हलमा जम्मा भएर तीज गीत, नृत्य र सामूहिक पूजासहित पर्व मनाउँछन् । प्रायः नेपाली दूतावास वा संघ–संस्थाले सहयोग गर्ने भएकाले परदेशमै नेपालीपन झल्किने भव्य तीज कार्यक्रम हुने गरेको छ । देश–देशमा फरक परिस्थितिमा मनाइने भए पनि तीज नेपाली महिलाको भावनात्मक सम्बन्ध, आत्मीयता र सांस्कृतिक पहिचानसँग जोडिएको छ ।



























