काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विश्वभरि छरिएर रहेका नेपालीहरूलाई आफ्नो मातृभूमि नेपालमा आएर लगानी गर्न आह्वान गर्नुभएको छ। उहाँले विभिन्न कारणले बिदेसिएका र विदेशमा व्यवसाय गरिरहेका नेपालीहरूलाई नेपालको समृद्धि र विकासमा योगदान दिन आग्रह गर्नुभएको हो।
एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) नेपाल च्याप्टरको प्रथम अधिवेशनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले नेपालको विकास नै सम्पूर्ण नेपालीहरूको सुख र समृद्धि भएकाले सरकारले विदेशी लगानीका लागि आवश्यक वातावरण तयार गरिरहेको र भविष्यमा थप सहजीकरण गर्न तयार रहेको बताउनुभयो। उहाँले सांस्कृतिक राष्ट्रियतालाई जोड्न पनि एएनओको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू आदानप्रदान हुन आवश्यक रहेकोमा जोड दिनुभयो।
अधिवेशनको उद्घाटन सत्रमा एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले नेपालीहरूको सुनौलो भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले गत वर्ष थाइल्यान्डमा ३२ वटा देशका नेपालीहरूको सहभागितामा संस्था गठन भएको जानकारी दिनुभयो।
यसै सम्मेलनमार्फत विश्वभरि छरिएका नेपालीहरूलाई एकै ठाउँमा ल्याउने अभियान अन्तर्गत नेपालमा एएनओको च्याप्टर गठन भएको छ। एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीको उपस्थितिमा पूर्व उपरथि कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा १३ सदस्यीय समिति गठन भएको छ। समितिको उपाध्यक्षमा राजेन्द्र अधिकारी, महासचिवमा फूलमान बल, सचिवमा कृष्णप्रसाद ओडारी र कोषाध्यक्षमा यमुना पराजुली अधिकारी चयन हुनुभएको छ। सदस्यहरूमा गीता गुरुङ, डा। सुशीला नेपाली, रञ्जन विडारी, कृष्ण विक, रविता मगर, सुनिल थापा र दिक्षा चपाई रहेका छन्।
उद्घाटन सत्रमा एएनओका महासचिव चूडामणि भट्टराई र नेपाल टेलिभिजन सञ्चालक समितिका सदस्य फूलमान बलले संस्थाको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा इन्ट्रा फाउन्डेसन नेपाल च्याप्टरका अध्यक्ष बाबुकृष्ण कार्कीले पनि आफ्ना विचारहरू राख्नुभएको थियो।



























