काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्ना सेवाहरू छिटो, पारदर्शी र सरल बनाउनका लागि ‘श्रम डिजिटलाइजेसन’ अभियान अन्तिम चरणमा पुर्याएको छ।
मन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा अघि बढिरहेको अभियानले अब सेवाग्राहीहरूले भोग्दै आएका अनावश्यक झन्झट र लाइन बस्ने बाध्यता हटाउने अपेक्षा गरिएको छ। अभियानमार्फत श्रमिक दर्ता, सामाजिक सुरक्षा कोषमा योगदान, वैदेशिक रोजगार अनुमति र श्रम स्वीकृति जस्ता सेवाहरू डिजिटल माध्यमबाटै सम्पन्न गर्न सकिनेछ।
केही कार्यहरू पहिले नै सुरु भइसकेका छन् भने अन्य प्रक्रियाहरू द्रुत गतिमा अघि बढाइरहेको मन्त्रालयको भनाइ छ । यो कदमले सेवाग्राहीको समय र स्रोतको बचतसँगै श्रम क्षेत्रमा पारदर्शिता र जवाफदेहिता बढाउने विश्वास लिइएको छ।
मन्त्रालयले अभियानलाई सम्पूर्ण श्रमिक वर्ग, रोजगारदाता र सेवाग्राहीहरूप्रति आफ्नो प्रतिबद्धताको उदाहरणको रूपमा प्रस्तुत गरेको छ। ‘श्रम डिजिटलाइजेसन’ अभियानले डिजिटल, पारदर्शी र उत्तरदायी सेवा प्रणालीको विकास गर्दै समृद्ध श्रम क्षेत्रको आधार तयार गर्ने लक्ष्य राखेको छ।



























