काठमाडौं । तिहार पर्व नजिकिँदै गर्दा सरकारी निकायहरूले फूलमाला विदेशबाट हुने आयातलाई निरुत्साहित गर्न थालेका छन्। यस कदमले नेपाली किसान र फूल व्यवसायीहरूमा उत्साह जागेको छ।
कृषक तथा फूल व्यवसायी संघका प्रतिनिधि भीम सुनारका अनुसार सरकारले आयात नियन्त्रणका प्रयास थालेपछि यस वर्ष नेपाली फूलले बजार पाउने अपेक्षा गरिएको बताए । उनले भने, “काठमाडौं महानगरले पोहोर पनि त्यसै भनेको थियो, तर केही व्यापारीले भारतबाट सयपत्रीको माला पहिल्यै आयात गरेर भण्डारण गरिसकेकाले समस्या परेको थियो। यसपालि त्यस्तो नहोला भन्ने आशा गरेका छौँ।”
फूल व्यवसायीहरूको भनाइमा नेपालमै उत्पादित सयपत्री, गोदावरी र मखमली फूलको उत्पादन बढ्दै गए पनि बजार सुनिश्चितता अझै पनि चुनौतीपूर्ण छ। उनीहरूका अनुसार तिहारमा दैनिक लाखौँ थान फूलमाला बिक्री हुने भए पनि कतिपय वर्षमा भारतीय माला सस्तो दरमा भित्रिएपछि स्थानीय उत्पादनको बिक्री घट्ने गरेको थियो।

यस वर्ष भने काठमाडौं महानगरसहितका स्थानीय तहहरूले नेपाली फूलको प्रयोगलाई प्रोत्साहन गर्ने घोषणा गरेका छ। स्थानीय स्तरमा उत्पादन र वितरण सहज बनाउन कृषक समूह र सहकारीहरूलाई सहजीकरण गर्ने तयारी सरकारको छ।
व्यवसायीहरूको विश्वास छ—यदि आयात नियन्त्रण र बजार व्यवस्थापन दुवै पक्षमा ध्यान दिइयो भने आगामी वर्षहरूमा नेपाल आत्मनिर्भर बन्न सक्नेछ।



























