काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले कार्तिक शुक्ल एकादशीका दिन आज भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह गरी हरिबोधनी ( प्रबोधिनी ) एकादशी पर्व मनाएका छन्। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशी ( हरिशयनी ) मा क्षीरसागरमा विश्राम लिनु भएका विष्णु आज पुनः जागरण गर्नुहुने धार्मिक मान्यताअनुसार यो पर्व मनाइन्छ।
आजको दिन घरघरको तुलसी मठमा विधिपूर्वक पूजा–आराधना गर्दै तुलसीको दामोदर अर्थात् भगवान् विष्णुसँग विवाह गरिन्छ। यससँगै चार महिनादेखि अवरुद्ध रहेको माङ्गलिक कार्य (जस्तै विवाह, ब्रतवन्ध ) पुनः सुरु हुने विश्वास छ। तुलसीमा गाईको गोबर र रातो माटो लगाई फूलमाला र दीवोले सिँगारेर विशेष पूजा गरीन्छ।
तुलसीलाई औषधिको भण्डार मानिन्छ। तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी, ज्वरो, औलो लगायत रोग निवारणका लागि उपयोगी हुने वैज्ञानिक रुपमा पनि पुष्टि भएको छ। घरमा तुलसीको मठ रहनु स्वतः शुद्धता, सकारात्मक ऊर्जा र स्वास्थ्य लाभसँग जोडिन्छ भन्ने धार्मिक तथा वैज्ञानिक मान्यता छ।
गरुड पुराणमा यस दिन भगवान् विष्णुलाई एउटै तुलसी पत्र अर्पण गर्दा १० हजार गाई दान गरेजति पुण्य लाभ प्राप्त हुने उल्लेख छ। यसैगरी कार्तिक महीनाभर तुलसीको माला लगाई पूजा गरे मनोकामना सिद्ध हुने विश्वास छ।
काठमाडौँ उपत्यकाका चार नारायण—शेष नारायण, चाँगुनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण तथा बूढानीलकण्ठ नारायणस्थलमा आज विशेष भीडभाड र पूजा–पाठ गर्नेहरुको घुईचो हुने छ।
तीर्थस्थल जान नसक्नेहरूले घर–घरमै तुलसीको मठमा अभिषेक, आरती र भजनसहित पर्व मनाउँने गर्दछन्।
आजकै दिनमा उखुको बोट तुलसीको मठमा गाडेर समृद्धिको कामना गर्छन्। व्रत बस्नेहरूले आज अन्न ग्रहण नगरी सखरखन्ड, पिँडालु, वनतरुल आदि फलाहार गर्छन्। धार्मिक विश्वासअनुसार यो व्रतले पाप नाश हुने र पुण्य वृद्धि , अन्ततः मोक्ष प्राप्ति हुने धार्मिक विश्वास रहेको छ। हरिबोधनी एकादशीको व्रत हजार यज्ञ गरे बराबर पुण्य पाउने उल्लेख छ।



























