काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज आइतबार एक मात्र खेल हुँदैछ। दिउँसो ३ः३० बजे निर्धारित खेलमा काठमाडौं गुर्खाज र कर्णाली याक्स आमनेसामने हुनेछन्।
पहिलो चरणका पाँच खेल खेलेको काठमाडौं गुर्खाज ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। टोलीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो। तर दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले हार बेहोरेको काठमाडौं तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटले पराजित भयो।
चौथो खेलमा लुम्बिनीविरुद्ध २२ रनको जित निकाल्दै फर्ममा फर्किएको काठमाडौंले पाँचौं खेलमा चितवन राइनोजलाई ५३ रनले हराउँदै आत्मविश्वास बलियो बनाएको छ। लगातार सुधारिएको प्रदर्शनका कारण काठमाडौं आजको खेलमा उच्च मनोबलका साथ मैदान उत्रिदैछ ।
उता, चार खेल खेलिसकेको कर्णाली याक्स २ अंकसहित तालिकाको छैटौँ स्थानमा छ। पहिलो खेलमा चितवनसँग ४ विकेटले पराजित भएको कर्णालीले दोस्रो खेलमा लुम्बिनीलाई ९ विकेटले हराउँदै उत्कृष्ट प्रदर्शन गरेको थियो।
तर तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले र चौथो खेलमा विराटनगरसँग ३ विकेटले पराजित भएको कर्णालीका लागि अब प्रतियोगितामा प्रतिस्पर्धी रहन आजदेखि बाँकी सबै खेल जित्नैपर्ने दबाब छ।



























