काठमाडौं । सामाजिक सुरक्षा कोषले हालसम्म १ खर्ब २६ अर्ब रुपैयाँ विभिन्न क्षेत्र तथा साधनमा लगानी गरेको छ। आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट संकलित ९५ अर्बसहित कुल १२६ अर्ब रुपैयाँ लगानी संचालन भइरहेको जानकारी दिए।
उनका अनुसार कोषले ५८ अर्ब ८९ करोड रुपैयाँ बैंकका विभिन्न मुद्दती खातामा, ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, ४ अर्ब ५२ करोड डिबेञ्चरमा तथा १ अर्ब ९५ करोड म्याचुअल फण्डमा लगानी गरेको छ।
त्यस्तै, २० हजार योगदानकर्तालाई सापटी कार्यक्रम अन्तर्गत ७ अर्ब ७९ करोड ८३ लाख रुपैयाँ वितरण गरिएको अधिकारीले बताए। कोषले विशेष सापटीमा वार्षिक ५।२ प्रतिशत तथा घर तथा शैक्षिक सापटीमा ५.८६ प्रतिशत व्याजदर लागू गरेको छ।
कार्यकारी निर्देशक अधिकारीले बैंकिङ क्षेत्रमा अत्यधिक तरलताका कारण लगानी विस्तारमा चुनौती देखिए पनि यो अल्पकालीन समस्या मात्रै भएको टिप्पणी गरे।
उनले भने “कोषको योजनाको प्रभावकारी कार्यान्वयन गर्न सके वार्षिक १ खर्बसम्म संकलन गर्ने क्षमता छ, र सो रकम राज्यका महत्वपूर्ण पूर्वाधार निर्माणमा उपयोग गर्न सकिन्छ।”
कोषमा श्रमिकहरूको पहुँच बढाउन ११४ ओटा पालिकासँग समझदारी (एमओयू ) भइसकेको छ भने केही पालिकाले योगदान रकम संकलन गर्न थालिसकेको कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए।



























