काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको छ।
सार्वजनिक सूचीअनुसार अध्यक्ष पदमा रोविनप्रसाद शेरचन (जापान), डा. हेमराज शर्मा (यूके) र रविनराज बज्राचार्य (अमेरिका) उम्मेदवार बनेका छन्। महासचिव पदमा चिरञ्जीवी खड्का (चेक रिपब्लिक) र रामशरण सिम्खडा (यूके) बीच प्रतिस्पर्धा हुनेछ।
६ उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा राधिका गुरुङ (टीका) मात्र उम्मेदवार रहेकी छन्। युवा उपाध्यक्षमा भीमसेन थापा, मदनराज पौडेल र ओमान गौचनबीच प्रतिस्पर्धा हुने भएको छ।
महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौंमा हुने निर्वाचन आयुक्त तेज बहादुर कार्की ले जानकारी दिएका छन्।



























