काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नव-निर्वाचित कार्यसमितिले औपचारिक रूपमा पदबहाली गर्दै वैदेशिक रोजगार क्षेत्रको सुधार, व्यवसायीको हकहित संरक्षण तथा श्रमिकमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
जेठ २५ गते सम्पन्न संघको विशेष साधारण सभाबाट निर्वाचित अध्यक्ष डिकबहादुर खत्री (कुमार) सहित कार्यसमितिले बुधबार सिफलस्थित संघको केन्द्रीय कार्यालयमा धार्मिक विधिअनुसार पूजाआजा गरी पदभार ग्रहण गरेका छन् ।
पद बहालीपछि आयोजित कार्यक्रममा अध्यक्ष खत्रीले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित, पारदर्शी र सम्मानित व्यवसायका रूपमा स्थापित गर्नु आफ्नो नेतृत्वको मुख्य लक्ष्य रहेको बताए। उनले श्रमिक र व्यवसायीबीचको सम्बन्धलाई थप विश्वासिलो बनाउँदै दुवै पक्षको हित सुनिश्चित गर्ने गरी संघले भूमिका निर्वाह गर्ने बताए।
वैदेशिक रोजगार क्षेत्रले पछिल्लो समय विभिन्न नीतिगत, प्रशासनिक तथा व्यावहारिक चुनौती सामना गरिरहेको उल्लेख गर्दै अध्यक्ष खत्रीले ती समस्याको समाधानका लागि सरकार, नियामक निकाय र व्यवसायीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले व्यवसायीहरूलाई अनावश्यक रूपमा दोषी देखाउने प्रवृत्तिको अन्त्य गर्दै जिम्मेवार र व्यावसायिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
श्रमिक र व्यवसायीबीच उत्पन्न हुने विवाद समाधानका लागि मेलमिलाप प्रणाली प्रभावकारी माध्यम रहेको उल्लेख गर्दै उनले वैदेशिक रोजगार विभागअन्तर्गत सञ्चालनमा रहेको मेलमिलाप केन्द्र पुनःस्थापना गर्न माग गरे। विगतमा उक्त केन्द्रमार्फत हजारौं उजुरी सहमतिका आधारमा टुंगो लाग्ने गरेको स्मरण गर्दै उनले विवाद समाधानको सहज र छिटो माध्यमका रूपमा मेलमिलापलाई संस्थागत गर्नुपर्ने बताए।
अध्यक्ष खत्रीले सरकारले वैदेशिक रोजगार क्षेत्रप्रति स्पष्ट धारणा बनाउनुपर्ने आवश्यकता औंल्याउँदै श्रम गन्तव्य मुलुक विस्तार, नयाँ रोजगारीका अवसरको खोजी, सेवा शुल्कसम्बन्धी स्पष्ट नीति तथा व्यवसायीमैत्री कानुनी व्यवस्था निर्माणमा ध्यान दिनुपर्ने बताए। उनले वैदेशिक रोजगारलाई राष्ट्रको अर्थतन्त्र, रोजगारी व्यवस्थापन र विप्रेषण आप्रवाहसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा महासचिव हिराबहादुर डाँगीले संघको कार्यालय प्रशासनलाई थप व्यवस्थित बनाउने, सदस्य व्यवसायीका समस्या समाधानमा केन्द्रित हुने तथा लामो समयदेखि थाती रहेका विषयहरूलाई प्राथमिकताका साथ अघि बढाइने बताए। उनले संघलाई व्यवसायीहरूको साझा, जिम्मेवार र प्रभावकारी संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।
संघको प्रथम उपाध्यक्षमा महेश बस्नेत, द्वितीय उपाध्यक्षमा अनिल बोगटी, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल, महासचिवमा हिराबहादुर डाँगी, सचिवमा केदारनाथ अधिकारी तथा कोषाध्यक्षमा धनमाया सिन्जाली निर्वाचित भएका छन्।
यस्तै कार्यसमिति सदस्यहरूमा रमा खड्का, तारा तामाङ, तारामणि राई, ध्रुव जिसी, भावना गजुरेल, रविन्द्र राई, विवश ढुंगाना ९दीपक०, दीक्षा थपलिया, बाबुराम न्यौपाने र गीता राउत निर्वाचित भएका छन्।
पदबहाली समारोहका अवसरमा विघटित प्रबन्ध समिति तथा निर्वाचन समितिका पदाधिकारीलाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रममा सहभागी व्यवसायीहरूले नयाँ नेतृत्वले वैदेशिक रोजगार क्षेत्रका चुनौती समाधान, व्यवसायीको मनोबल अभिवृद्धि र श्रमिक अधिकार संरक्षणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।



























