काठमाडौं । सरकारले वैदेशिक रोजगारीका नाममा हुने ठगी र शोषण नियन्त्रण गर्न गैरकानुनी एजेन्टविरुद्ध ‘अपरेसन ईलिगल एजेन्ट क्लिन–अप’ अभियान सुरु गरेको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुरक्षित, व्यवस्थित र पारदर्शी वैदेशिक रोजगारलाई सरकारको उच्च प्राथमिकतामा राख्दै अभियानको शुभारम्भ गरेका हुन्।
बुधबार देशभरका रोजगार संयोजक तथा आप्रवासन स्रोत केन्द्रका काउन्सेलरसँग भर्चुअल अन्तर्क्रिया गर्दै मन्त्री यादवले वैदेशिक रोजगारीको क्षेत्रमा गैरकानुनी एजेन्टको सक्रियताले श्रमिक ठगी र शोषण बढाएको उल्लेख गरे। कानुनले एजेन्टलाई मान्यता नदिए पनि व्यवहारमा उनीहरू अघोषित रूपमा सक्रिय रहेकाले त्यसलाई नियन्त्रण गर्न अभियान सुरु गरिएको उनले बताए।
मन्त्री यादवका अनुसार सुरक्षित वैदेशिक रोजगार सुनिश्चित गर्न गैरकानुनी गतिविधिलाई नियन्त्रण गर्नु अपरिहार्य छ। श्रमिकलाई गलत सूचना, झुटा आश्वासन र आर्थिक शोषणबाट जोगाउन सरकार कडा रूपमा प्रस्तुत हुने उनको भनाइ छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार २०५६ सालदेखि प्राप्त उजुरीहरूको विश्लेषण गर्दा वैदेशिक रोजगारीसँग सम्बन्धित अधिकांश समस्या गैरकानुनी एजेन्टसँग जोडिएको देखिएको छ। त्यसैलाई आधार बनाएर सरकारले अवैध एजेन्टको पहिचान, निगरानी र कानुनी कारबाहीलाई प्रभावकारी बनाउने अभियान अघि बढाएको हो।
अभियानलाई प्रभावकारी बनाउन मन्त्रालयले विशेष अनलाइन वेबसाइट र मोबाइल एप विकास गरेको जनाएको छ। उक्त प्रणालीमार्फत श्रमिकलाई ठगी गर्ने, झुटा आश्वासन दिने वा गैरकानुनी रूपमा वैदेशिक रोजगारसम्बन्धी सेवा प्रदान गर्ने व्यक्ति तथा समूहबारे सूचना संकलन गरिनेछ। प्राप्त विवरणका आधारमा सम्बन्धित निकायले अनुसन्धान र आवश्यक कारबाही अघि बढाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
मन्त्री यादवले यो अभियानलाई उजुरी व्यवस्थापनमा मात्र सीमित नराखी डेटा–आधारित सुशासनको आधारका रूपमा विकास गरिने बताए। संकलित तथ्यांकले नीति निर्माण, प्रभावकारी अनुगमन र उत्तरदायी कारबाहीमा सहयोग पुग्ने उनको विश्वास छ।
सरकारले गैरकानुनी एजेन्टको प्रभाव न्यूनीकरण गर्दै वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित, पारदर्शी र श्रमिकमैत्री बनाउने लक्ष्यसहित अभियानलाई देशभर विस्तार गर्ने जनाएको छ।



























