काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक कार्यक्रम आयोजना गरी आफ्नो ३४औँ स्थापना दिवस मनाएको छ।
स्थापना दिवसको अवसरमा संघले बुधबार ललितपुरको सानेपास्थित सी आशा विशेष पाठशाला तथा पुनःस्थापना केन्द्रमा आश्रित अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि खाद्यान्न, शैक्षिक सामग्री तथा वाद्यवादन सामग्री वितरण गरेको हो। संघले उक्त सहयोगले विशेष आवश्यकता भएका बालबालिकाको शिक्षा, पुनःस्थापना र दैनिक जीवनलाई सहज बनाउन सहयोग पुग्ने विश्वास लिएको छ।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष डिक बहादुर खत्री (कुमार) ले सामाजिक उत्तरदायित्वलाई संस्थाको प्रमुख दायित्वका रूपमा अघि बढाइएको उल्लेख गर्दै यस्ता सहयोग कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताए। उनले सामाजिक सेवाको अवसर उपलब्ध गराएकोमा सी आशा फाउन्डेसन प्रति आभार व्यक्त गरे।
यसै अवसरमा संघले वैदेशिक रोजगार विभागमा सेवा लिन आउने सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै विभागलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ। विभागको ताहाचलस्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डिकबहादुर खत्री (कुमार) सहित पूर्वअध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो।
संघका महासचिव हरि डाँगीले ‘ सेवामै समर्पण,सामाजिक उत्तरदायित्वमै हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराअनुसार स्थापना दिवसलाई औपचारिक कार्यक्रम भन्दा सामाजिक सेवा मूलक गतिविधि मार्फत मनाइएको बताए। निजी क्षेत्रले व्यवसायिक गतिविधिसँगै समाजप्रतिको दायित्व पनि उत्तिकै जिम्मेवारीका साथ निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारी, प्रथम उपाध्यक्ष महेश बस्नेत, द्वितीय उपाध्यक्ष अनिल बोगटी, तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल, महासचिव हरि डाँगी, कार्यक्रम संयोजक कोषाध्यक्ष धन माया सिंजाली तथा कार्यसमिति सदस्यहरू रमा खड्का, तारा तामाङ, तारामणि राई, ध्रुव जिसी, भावना गजुरेल, रविन्द्र राई र गीता राउत लगायत ब्यबसायीहरुको उपस्थिति थियो।




























